काठमाडौं। कर्णालीमा आगामी आर्थिक वर्षमा ८० प्रतिशत बजेट अधुरा आयोजनामा मात्र खर्च गरिने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी वर्षलाई अधुरा आयोजना कार्यान्वयनको वर्षका रुपमा मनाउने नीतिका साथ बजेटको धेरै मात्रा अधुरा योजनामा खर्च गर्ने जनाएको हो ।
बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आर्थिकमन्त्री बिन्दमान विष्टले अधुरा आयोजना कार्यान्वयन गर्नका लागि यसपटक पुरानैलाई निरन्तरता दिइएको बताए।
उनले भने, ‘यसअघि धेरै महत्त्वाकांक्षी आयोजनाहरू घोषणा भए। तर अधिकांश आयोजना कार्यान्वयन भएनन्। अधुरै छन्। त्यसैले पनि यसपटक हामीले नयाँ–नयाँ योजनाहरू समेटेनौँ ।’ यसअघिका बजेट तथा कार्यक्रममा कर्णालीका लागि आवश्यक सबै आयोजनाहरू समेटिएकाले यसपटक कुनै नयाँ योजना थप्नुपर्ने आवश्यकता नदेखेको मन्त्री विष्टको भनाइ छ।
मन्त्री विष्टका अनुसार आगामी आवमा कुनै एक विषयगत मन्त्रालयको एउटा कार्यालयले आफूसँग सम्बन्धित ३० देखि ८० प्रतिशत अधुरा आयोजनाहरु सम्पन्न गर्नुपर्नेछ । उनले भने, ‘३० प्रतिशतभन्दा तल कुनै पनि कार्यालयले आयोजना कार्यान्वयन गर्न पाउने छैन। अधुरा आयोजना सम्पन्न भएपछि मात्रै पनि जनताले विकासको अनुभूति गर्नेछन्।’
अधुरा आयोजनाहरू भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित आयोजना मात्रै नभएको मन्त्री विष्टको भनाइ छ । ‘अधुरा आयोजनाहरू सबै मन्त्रालयका छन्,’ उनले भने, ‘विद्यालयका भवन बनेका छैनन्स गाउँमा खानेपानीको सुविधा पुगेको छैनस बन्ने भनिएका अस्पतालहरू पनि अधुरै छन्स त्यसैले अधुरा आयोजना सम्पन्न भएमा प्रदेश सरकारको उपलब्धी देखिने छ ।’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।