काभ्रेपलाञ्चोक। पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।
सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५९५ कर्मचारी पूर्णकालीन छन् भने समग्र जिल्लाका ८०१ कर्मचारी होटलमा कार्यरत रहेका छन् । धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
सङ्घका अनुसार धुलिखेलमा होटलमा लगानी गरिएको सवा रु आठ अर्बमध्ये रु दुई अर्ब ४८ करोड ९० लाख ७२ हजार बैंकको लगानी रहेको हो । यहाँका होटल व्यवसायीले राज्यलाई रु १३ करोड ३५ लाख तथा धुलिखेल नगरलाई रु ३२ लाख ७५ हजार तिर्ने गर्छन् । सङ्घका अध्यक्ष प्रमकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा रहेका होटलमा ९७२ कोठामा एक हजार ७४५ बेड रहेको जानकारी दिए।
उनले भने, “स्थानीय सरकारसँगको समन्वयमा धुलिखेलमा थप पर्यटन विकासकार्य गर्न यहाँका व्यवसायी तयार रहेका छन् ।” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धुलिखेलको पर्यटन विकासका लागि बोर्डले आवश्यक सहयोग गरिरहेको बताए।
धुलिखेल नगरका संस्थापक प्रमुख बेलप्रसाल श्रेष्ठ धुलिखेलमा सरसफाइ र पर्यटकको आगमनका हिसाबले पर्यटनका क्षेत्रमा थप प्रचुर सम्भावना रहेकाले ठूला र सुविधानजनक होटल निर्माण भइरहको बताउनुहुन्छ । उनी भन्छन्, “धुलिखेलमा पर्यटनमा प्रचुर सम्भावना छ, यहाँका होटलले इतिहास रचेका छन् ।” उनको हिमालयन होराइजन होटल तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको रोजाइको होटल रहेको थियो ।
सङ्घका अनुसार जिल्लामा कूल १२४ होटल छन् । जिल्लाकै अर्को पर्यटकीयस्थल नगरकोटमा ४२ होटल छन् भने बनेपा नगरमा १०, पनौती नगरमा सात, नमोबुद्ध नगरमा पाँच, पाँचखाल नगरमा तीन र दोलालघाटमा आठ होटल रहेका छन् । जिल्लामा कोभिड शुन्य भएपछि पछिल्ला केही महिनादेखि आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल भइरहेको सङ्घले जनाएको छ ।