काभ्रेपलाञ्चोक। आगामी मङ्सिर महिनाभित्र काभ्रेको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएपनि कोभिड–१९ र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।
तेमाल बृहत् खानेपानी आयोजनालाई कोरोनाको दुई लहर र गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको थियो । उपभोक्ता समितिले अबको छ महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको जनाएको छ ।
“आउँदो मङ्सिर महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यकासाथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । साथै प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।
पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौता गरिएको थियो । सोहीअनुसार ३१ किमी पाइन बिछ्याउनेकार्य सकिएको लामाले जानकारी दिए। साथै रोशी गाउँपालिका–७ कटञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उनले बताए।
अध्यक्ष लामाका अनुसार उक्त आयोजनाले तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिको तेमाल खानेपानीको मुहान सुनकोसी नदीकिनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोसी नदीकिनार चुखाबेँसीका कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई हाल सुरक्षित गरिएको हो ।