फाइल तस्बिर
लमजुङ । डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ। लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, पर्खाल उठाउने लगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको हो।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ ।
राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५–१५ मिटरको हुने उक्त योजना कार्यालयका सूचना अधिकारीले बताए। उनका अनुसार १०–१० मिटरको लगतकट्टा भइसकेको छ भने, अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।
त्यस्तै, दायाँबायाँ एक–एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार ८ दशमलव तीन किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले अघिल्लो वैशाख २२ गते सम्झौता गरेको थियो । सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ ।
त्यस्तै कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने उक्त योजना कार्यालयले जनाएको छ। डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको रहेको छ ।
सडकका लागि भ्याट र पीएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ। यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ ।