पाँचथर । भारतीय निर्माण कम्पनीको लापरबाहीले गर्दा राँके–रवि–छ नम्बर बुधबारे सडक लथालिंग छ । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १ सय ३ किलोमिटर सडक कालोपत्र गर्ने चारवर्षे म्याद गुज्रेको सात महिना बितिसक्दासम्म उधिनेर छोडेको सडकको काम अगाडि बढ्न सकेको छैन ।
काम सुरु भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ, मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन, पछिल्लो समय निर्माण व्यवसायी कम्पनीका जिम्मेवार व्यक्तिहरू श्रमिक र पेटी ठेकेदारले पाउने रकम भुक्तानी नगरी सम्पर्कविहीन छन्,’ अनुमगन र मूल्यांकन गर्ने दायित्व पाएको कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने ।
३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकी डलर लागत रहेको उक्त सडक कालोपत्रे गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ मै सम्झौता गरेको थियो । सम्झौतामा २०७८ मंसिरभित्र काम सक्नुपर्ने उल्लेख छ । सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतालगत्तै २०७५ पुस २१ मा कालोपत्र गर्ने कार्यको उद्घाटन गरेका थिए । म्याद गुज्रेको ७ महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । श्रमिकले नियमित पारिश्रमिकसमेत पाएका छैनन् ।
इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण इकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकोले म्याद थप्दा दैनिक ०।१ प्रतिशतका दरले नेपाल सरकारलाई जरिवाना तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालकहरू जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा छैनन् । इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारण कोभिड १९ र बेमौसमी झरी रहेको दाबी गर्छन् । श्रमिकलाई भुक्तानी दिने समस्या ठूलो नभएको भन्दै उनले थप कुरा गर्न चाहेनन् । कालोपत्र गर्न जिम्मा लिएको यो कम्पनीले १ सय ३ किलोमिटर लामो सडकमा सुरुवातदेखि नै आवश्यक औजार, उपकरण र जनशक्ति ल्याउन कन्जुस्याइँ गरेको पाइएको पाँचथरका पूवसांसद एवं भौतिक पूर्वाधार यातायात मन्त्री वसन्तकुमार नेम्वाङ बताउँछन् ।
‘मैले सांसद र मन्त्रीको हैसियतमा पटकपटक ताकेता गर्दार्सम्म काम अगाडि बढाउन जागरुकता देखाएनन्, त्यसैले ठेक्का रद्द गरेर विकल्प खोज्नु जरुरी देखिन्छ,’ नेम्वाङले भने । आफू विभागीय मन्त्री रहँदा ठेकेदार कम्पनीका जिम्मेवार पक्षसँग संवादसँगै भारतीय दूतावासमार्फत काम अगाडि बढाउँदासम्म नटेरेको नेम्वाङ बताउँछन् ।
प्रदेश १ को पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गबाट जोड्ने लक्ष्यअनुसार तीन दशकअगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ । यो सडक मेची राजमार्गअन्तर्गत इलाम फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्बिसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभन्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जेहुँदै कोसी रामगार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने भेडेटार पुगेर टुंगिन्छ । उक्त सडकको पाँचथर खण्डमा माटो ब्याक कटिङ गरेर छोडिएको छ भने रिटनिङ वाल लगाउने र ग्याबिन तारजाली बुन्न काम अलपत्र छ । माटो खनेर छोडिएकाले सडक खण्ड हिलाम्य छ । सामान्य वर्षा हुनासाथ लेदो माटो र पानी जमेकाले ठाउँठाउँमा सवारी एवं ढुवानी साधन फस्ने गरेका छन् ।
रविदेखि सप्तमी, दशमी पञ्चमी हुँदै राँके जोड्ने ३५ किलोमिटर क्षेत्र जेनतेन चलिरहेको छ । यो खण्डको सडक पनि हिलाम्य भएकाले रविदेखि राँकेसम्मको करिब ३० किलोमिटर पार गर्न कम्तिमा चार घण्टा लाग्ने चालकहरू बताउँछन् ।
उनका अनुसार साधनहरू घण्टौंसम्म फस्ने गरेकाले निर्धारित समयमा गन्तव्यमा पुग्नु त परै जाओस् जंगलमा भोक तिर्खै रात बिताउनुपर्छ । सडकको दुरवस्थाकै कारण मोरङ र धनकुटाका सीमावर्ती क्षेत्रमा पर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिका स्थित लिम्बा, दूरदिम्बा र कुरुम्बा जस्ता ठाउँबाट गाउँपालिका केन्द्र रवि चल्ने सवारी साधन जेठ पहिलो सातादेखि बन्द भइसकेका छन् । कान्तिपुरबाट