काठमाडौं। प्रमुख दल निकट पर्यटन व्यवसायीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई तत्कालै बर्खास्त गर्न माग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरुले हिजो एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहाल र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष पूर्णबहादुर कुँवरले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको छवि बचाउन आलेलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री र नेकपा (एकीकृत समाजवादी)सँग आग्रह गरेका छन्।
केही समय पहिले आफ्नो विवादास्पद अभिव्यक्तिका कारण तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएको घटना ताजै छ’, विज्ञप्तिमा भनिएको छ।
‘यसै उदाहरणलाई पछ्याएर नैतिकताको आधारमा तत्काल राजीनामा दिन मन्त्री आलेलाई हामी पर्यटन व्यवसायीको छाता संगठनहरू एक साथ सुझाव दिन्छौँ’, विज्ञप्तिमा उल्लेख छ।
पर्यटन व्यवसायीहरूले चेतावनी दिँदै भनेका छन्, ‘अन्यथा विषयगत जानकारीसम्म पनि नभएका, आफ्नो पदीय मर्यादासम्मको याद नगर्ने, आफ्ना मान्छेहरूलाई जागिर खुवाउन अनावश्यक दवाव दिने, अश्लील गालीगलौज गर्ने र हातपातसम्मका घटना घटाउने जस्ता दुष्कार्य गरेर गैरजिम्मेवार बनेका मन्त्री आलेलाई उनको पदीय जिम्मेवारीबाट तत्काल बर्खास्त गरी सरकार र पार्टीको छवि बचाउन प्रधानमन्त्रीज्यू र सम्बन्धित पार्टीलाई अनुरोध गर्दछौँ।’
मन्त्री आलेले केही दिन अगाडि आफ्नै कार्यकक्षमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपातसहित दुर्व्यवहार गर्नुका साथै निच शब्दहरूबाट गालीगलौज गरेका थिए।