काठमाडौं। कर्णाली र सुदूरपश्चिम जोड्ने पुल सञ्चालन हुने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको हो।
३३ करोड लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेपछि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दुरीको सडक सञ्जालमा जोडिएको हो।
कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध जोडिन सकेको थिएन। कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले कर्णाली चिसापानी सडकबाट पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्ने छ।
पुल निर्माणसँगै साविक सुदूरपश्चिमको अछाम, बाजुरा र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु, जिल्लाका बासिन्दाले छोटो दुरीको यात्रा गर्न पाउने भएका छन्।
कुइनेस्थित कर्णाली नदीमा पुल सञ्चालनपछि सुर्खेतको बड्डिचौरहुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिने स्थानीयले बताएका छन्। कुइनेस्थित कर्णाली नदीमा अनत–लुम्बिनी जेभीले पुल निर्माणको जिम्मा पाएको थियो।
असार मसान्तदेखि सवारी आवागमनका लागि सञ्चालन गर्ने गृहकार्य भइरहेको बताइएको छ। पुल निर्माणका लागि ०७२ सालमा ठेक्का सम्झौता भएको थियो। सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ।
२०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण शुरु गरिएको हो। चालू आर्थिक वर्षमै पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई अन्तिम रुप दिन काममा तीव्रता दिइएको बताइएको छ।