काठमाण्डौं। लामो प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुलेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै निर्माण कार्यले गति लिने भएको हो।
कोहलपुर–सुर्खेत ५२ किमी प्रशारण लाइनअन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाका वन क्षेत्रमा रहेका १३ हजार ५६ रुख कटान गर्नुपर्नेछ। आयोजनाले मन्त्रिपरिषद् निर्णयपछि वन विभाग र आयोजनाबीच रुख कटानसम्बन्धी सम्झौता हुने जनाएको छ। सामुदायिक वन क्षेत्रमा रहेका रुख कटानका लागि सम्बन्धित वन उपभोक्ता समिति, राष्ट्रिय वन क्षेत्रका लागि डिभिजन वन र निकुञ्ज क्षेत्रका रुख कटानका लागि वार्डेन कार्यालयले कटान प्रक्रिया सुरु गर्नेछन्।
विसं २०४५ मा विस्तार गरिएको ३३ केभी प्रशारण लाइनले हालको माग धान्न नसकेपछि १३२ केभी प्रशारणलाइन निर्माण अघि बढाइएको हो। ७० करोड लागतमा आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले पाएको छ।
जङ्गल क्षेत्र नभएको स्थानमा ४० वटा टावरको जग खन्ने काम सम्पन्न भएको आयोजनाले बतनएको छ। विसं २०८० असोजसम्म प्रशारण लाइन निर्माण भइसक्ने आयोजनाको दाबी छ।
आयोजना क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका र लेकबेँसी नगरपालिका, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दियाको बाँसगढी नगरपालिका, बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्दछन्। प्रशारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ।
विद्युत् प्रशारण लाइन कार्यान्वयनका लागि विभिन्न जग्गा–जमिन, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कूल जग्गाको क्षेत्रफल २२५ वर्गमिटर हुनेछ। त्यस्तै ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यकपर्ने आयोजनाले जनाएको छ।
छब्बीस डबल सर्किटका एङ्गल टावरसहित १४५ टावर निर्माण हुनेछन्। आयोजनाले कोहलपुर र सुर्खेतको सवस्टेशन निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया अघि बढिसकेको जनाएको ।