धनगढी। धनगढी उपमहानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धनगढीका प्रमुख गोपाल हमालले नगर क्षेत्रको सडक सुधारका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने बताएका हुन्।
हमालले सडक पूर्वाधारको नियमित मर्मत–सम्भार तथा स्तरोन्नति गर्न मर्मत सम्भार एकाइ गठन गरी पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेका छन्।
नीति तथा कार्यक्रममा पूर्वाधार निर्माण र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। स्वतन्त्रबाट मेयरमा निर्वाचित हमालले विगतभन्दा केही नयाँ र फरक खालका कार्यक्रम घोषणा गरेका छन् भने केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सहरी सडक निर्माण गर्दा पक्की नाली र फुटपाथ निर्माणलाई प्राथमिकता दिने नीति उपमहानगरले लिने हमालले बताए । नदी तथा खोलानालाको अतिक्रमण हटाएर किनारामा तटबन्ध र सडक निर्माण गर्ने कार्य आगामी वर्ष सुरु गरिने उनले घोषणा गरे । उपमहानगरले नगरभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरिसकेको छ ।
आगामी वर्षबाट योजनाबद्ध बस्ती विकास कार्यक्रमलाई कार्यान्वयनमा लैजाने घोषणा उपमहानगरले गरेको छ । विद्युत्, खानेपानी, ग्राभेल सडकजस्ता आधारभूत सेवा पुगेका बस्तीलाई प्राथमिकता दिई थप विकास गर्ने नीति लिइने मेयर हमालले बताए । घरनक्सा पास गर्दा पर्खालसहितको नक्सा तथा ठूला व्यावसायिक भवनहरू निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
किसानलाई परिचयपत्र वितरण गर्ने घोषणा पनि उपमहानगरले गरेको छ ।
विशेषज्ञ सेवालाई नागरिकको घरदैलोमा पुर्याउन सबै वडामा हरेक महिना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने घोषणा पनि उपमहानगरले गरेको छ । त्यस्तै, प्रत्येक महिना निशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उपमहानगरले शतप्रतिशत संस्थागत सुत्केरीको लक्ष्य निर्धारण गरेको छ । एक वडा एक एम्बुलेन्स कार्यक्रम लागू गर्ने र गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने मेयर हमालले बताए ।