काठमाडौं। निःशुल्क सार्वजनिक शौचालय प्रयोगका लागि काठमाडौं महानगरपालिका र ३३ वटा संस्थाबीच सम्झौता भएको छ। महानगर र बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरूबीच मंगलबार सम्झौता भएको हो।
महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा सम्झौता भएको छ।
महानगरको तर्फबाट सार्वजनिक निजी कार्यक्रका निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् भने दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरे ।
सम्झौता जनप्रतिनिधिको पूर्ण कार्यकालसम्मको लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने छन् ।यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा सम्बन्धीत संस्थाकै हुने छ ।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक एक जना प्रतिनिधि तोकिने छ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिने स्म्झौतामा उल्लेख छ ।महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो ।