काठमाडौं। गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण झापाका ठूला नदी गाउँ पसेपछि जनताको तटबन्ध कार्यक्रम झापाले सिँचाइ विभागमा बजेट माग्यो। उसको फाइल विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुग्यो। कात्तिकमै फाइल पुगे पनि अर्थले बल्ल माघमा तत्काल बजेट दिन नसक्ने जनाउ दियो । तर, उसले खरिद प्रक्रिया अघि बढाउँदै गर्न स्रोत सहमति भने दियो।
स्रोत सहमति पाएपछि जनताको तटबन्धले झापाका ठूला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न ठेक्का प्रक्रिया अघि बढायो। स्थानीय तह निर्वाचनलगायत कारणले बजेट आएन। जनताको तटबन्ध कार्यक्रम स्थानीय तहको निर्वाचनपछि बजेट आउनेमा ढुक्क थियो। अर्थ मन्त्रालयले जनताको तटबन्धलाई चालू आर्थिक वर्षमै सक्ने गरी काम गर्न २९ करोडबराबरको स्रोत सहमति दिएको थियो। अर्थको स्रोत सहमतिपछि जनताको तटबन्धले नदी नियन्त्रणका लागि १६ करोड ५७ लाखको काम सकिसकेको जनताको तटबन्ध गैँडे झापाका प्रमुख रुपनारायण अधिकारीले जानकारी दिए।
करिब दुई करोडबराबरको काम बीचमै रोकिएको छ। मेची, देउनिया, बिरिङ, कन्काई, कमल, रतुवा र मावाका २३ स्थानमा तटबन्धको काम सकिएको उनले बताए। ‘अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि हामीले १६ करोड ५७ लाखको काम सम्पन्न गरेका छौँ। अर्थले अहिले आएर सिँचाइ मन्त्रालयमार्फत बजेट दिन नसकिने भनी पत्राचार गरेको छ। सम्पन्न काममा भुक्तानी दिन समस्या भएको छ,’ अधिकारीले भने, ‘भुक्तानीका लागि निर्माण व्यवसायीको दबाब भए पनि दिन नसकेर ठूलो समस्या भएको छ।’
कतिपय तटबन्धको काम बजेट अभावमा बीचमै छाडिएको छ । जिल्लाकै ठूलो कन्काई नदीअन्तर्गत गौरीगन्ज–१ को देवीगाडामा नदीले बहाव परिवर्तन गरेर पश्चिमको नदी कमल नदीमा मिसिएको छ। यसलाई पुरानै बहावमा फर्काउन नसके करिब साढे चार सय बिघा जमिन र ६०–७० वटा घर बगाउने प्रमुख अधिकारी बताउँछन्। हाल त्यहाँ ६५० मिटर तटबन्ध गरिएको छ। अझै २५० मिटर तटबन्ध गर्नुपर्ने उनले बताए।
‘तटबन्ध सडक बनाएजस्तो यो वर्ष यहाँसम्म गरौँ, त्यसपछि अर्को वर्ष गरौँला भन्न मिल्दैन। निश्चित ठाउँमा लगेर टुंग्याउनुपर्छ। अधकल्चो छाडिए बगाएर लैजाने जोखिम हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘कन्काई नदीअन्र्तत देवीगाडाको हकमा त्यस्तै भएको छ। नौ सय मिटर तटबन्ध गर्नुपर्ने छ। ६५० मिटर सकियो। बजेट नभएपछि ठेकेदारले पनि काम गर्न मान्दैनन्,’ उनी भन्छन्, ‘अब २५० मिटर नसके नदीको बहाव पुरानै अवस्थामा फर्काउन सकिँदैन । ६०–७० घर बस्ती र करिब साढे चार सय बिघा खेतीयोग्य जमिन ठूलो जोखिममा पर्छ।’
फेरि बस्तीमा नदी पस्ने हो कि भन्ने चिन्तामा स्थानीय
तटबन्ध निर्माणको काम बीचमै छाडिँदा फेरि बस्तीमा नदी पस्ने हो कि भन्ने चिन्तामा छन्, स्थानीय। ‘कात्तिकको बाढीले सबै घर भत्कायो। गाउँपालिकाले हामी विपन्नका लागि बनाइदिएको घर पनि बस्नै नहुने बनायो। तर, विकल्प नभएपछि जबर्जस्ती भए पनि यही घरमा आएर बसेका छौँ,’ गौरीगन्ज–१, टप्पु बस्तीका सल्तानु राजवंशी भन्छन्, ‘यसपटक त वेलैमा तटबन्ध भयो भनेर खुसी भएका थियौँ । तर, बीचैमा काम रोकिएको छ। बीचमै काम रोकियो भने त बनेको बाँध पनि भत्किन्छ। बाढीले भत्काएको घरमा बसेका छौँ। अब पनि खोला पस्यो भने कहाँ जाने ’
अर्थ मन्त्रालयको पत्राचारपछि जनताको तटबन्ध कार्यक्रमले सिँचाइ विभागलाई काम भइसकेको जानकारी गरायो। उक्त जानकारीपछि केही दिनअघि मात्र सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलगायतको टोलीले स्थलगत अनुगमन गरेको थियो।
नयाँ पत्रिका दैनिक