काठमाण्डौं। म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटा हुँदै रणवाङको सिमानासम्मको सडक कालोपत्र गर्न स्तरोन्नति सुरु गरिएको हो।
बेनी–दरवाङको सिम–लाम्पाटा खण्डमा निर्माण व्यवसायीले प्रारम्भिक चरणको काम सुरु गरिएको बताइएको छ। चार किलोमिटर सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो। तोराखेत क्षेत्रमा मेसिनरी पर्खाल निर्माण सुरु गरिएको छ।
ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोलेको थियो। १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए। ठेक्का सम्झौताको म्याद १८ महिनाको हो। सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको ओमबृद्धका प्रतिनिधिले जानकारी दिए
उक्त खण्डका लागि चालु आर्थिक वर्षमा दुई करोड ९५ लाख बजेट विनियोजन भएको थियो। विसं २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एक मात्र मार्ग हो।
बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक तीनवटा खण्डमा स्तरोन्नति भइरहेको छ। विसं २०७४ असोज ४ गते लामा–समानान्तर जेभीले रु ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेकोछ।
११ मिटर फराकिलो बनाइएको सडकमा नाली पर्खाल निर्माण गरेर सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो। यही असार महिनाभित्र काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको लामा–समानान्तरका आयोजनाले बताएको छ।