काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन विपरीत हडताल गर्ने घोषणा गरेका वायु सेवा कम्पनीहरूले बुधबार नियमित उडान गरेका छन्।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड बढी भएको भन्दै केही हवाई कम्पनीलाई उनीहरूले अनुमति पाएको स्थानलाई अपरेटिङ बेस बनाउन निर्देशन दिएको थियो। वायु सेवा संघले भने मंगलबार पत्रकार सम्मेलन गरी प्राधिकरणको निर्णय नमान्ने र बुधबारदेखि आपतकालीन सहित सबै उडान बन्द गर्ने घोषणा गरेको थियो।
प्राधिकरणको निर्देशन र संघको घोषणाले द्वन्द्व बढेपछि मंगलबार राति गरिएको वार्तामा हवाई कम्पनीहरू सेवा सुचारु गर्न सहमत भएका थिए। त्यसअनुसार बुधबार नियमित उडान गरिएको हो।
संघको घोषणापछि हवाई उडान अत्यावश्यक सेवा अन्तर्गत रहेको भन्दै प्राधिकरणले निर्देशन नमान्ने कम्पनीहरूको अनुमति समेत खारेज गर्ने दबाब दिएको थियो। यस्तै केही हवाई कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गर्ने प्राधिकरणले तयारी गरेपछि सञ्चालकहरू पछि हट्न बाध्य भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटैलाले बुधबार आन्तरिक हवाई उडान नियमित रूपमा सञ्चालन भएको बताए।
उनले प्राधिकरणको निर्देशन अनुसार हेलिकप्टर कम्पनीहरूले क्षेत्रीय विमानस्थलमा अपरेटिङ बेस पूर्वाधार तयारी गर्न ४ दिनको समय माग गरेको जानकारी दिए।
उनले बुधबार दिउँसो भएको वार्तापछि हेलिकोप्टर कम्पनीहरूले प्राधिकरणले तोकेको क्षेत्रीय विमानस्थलबाट अपरेटिङ बेसको आधारमा उडान सुचारु गर्न असार १३ सम्मको समय माग गरेको बताए।
नागरिक उड्डयन प्राधिकरणले असार ५ मा हेलिकोप्टर कम्पनीलाई यही असार ८ र हवाईजहाज सञ्चालक कम्पनीलाई असार १३ गतेदेखि तोकिएको अपरेटिङ बेसका आधारमा विमानस्थलमा रातको समयमा पर्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो।
आन्तरिक उडानमा सबै भन्दा लोकप्रिय कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु राम्रो नभएको भन्दै सामाजिक सञ्जालमार्फत आत्मालोचना गरेको छ। यसले बुधबार बिहान ११ बजेदेखि उडान सुचारु हुने जानकारी गराएको थियो।
यस्तै यती एयरले पनि बुधबार नै अनिश्चित कालका लागि स्थगित भएका सम्पूर्ण उडानहरू नियमित हुने जानकारी सामाजिक सञ्जालबाट गराएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक विमान पार्किङ क्षमता भएकोमा हाल ३४ वटा जहाज पार्किङ भइरहेका छन्। क्षमता भन्दा बढी जहाज पार्किङ गर्न नसके पछि प्राधिकरणले अपरेटिङ बेसलाई कार्यान्वयन गरेको थियो।
प्राधिकरणले ५५ वटा जहाज र हेलिकोप्टरलाई रात्रि पार्किङ गर्न १० वटा विमानस्थलमा तोकेको छ। चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवालगायतका विमानस्थलमा पार्किङ गर्न भनेको थियो।
नागरिक दैनिकबाट