काठमाडौं। झन्डै साढे दुई करोड गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना पूर्वनासुविरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नासु गणपति झाविरुद्ध आयोगले दुई करोड ४४ लाख ७१ हजार बिगो कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
९ मंसिर ०३९ मा गाविससचिव (खरिदार) बाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी बढुवा भएर नासु भएका थिए। उनी ०७८ साउनमा अवकाश भइसकेका हुन्। अकुत सम्पत्ति आर्जनको उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो। आयोगले उनी सरकारी सेवामा प्रवेश गरेदेखि अवकाशसम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो। छानबिनबाट अस्वाभाविक गैरकानुनी सम्पत्ति देखिएपछि आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।
परीक्षण अवधिमा झाको दुई करोड ४२ लाख ६७ हजार आयआर्जन देखिएको थियो। त्यसमा पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी सञ्चयकोषको ऋण, कृषि आय, सवारीसाधनको आय, बिमा म्याचुरिटी र न्यु थ्री ब्रदर्स एन्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आम्दानी थियो।
तर, त्यही अवधिमा उनको खर्च तथा लगानी भने चार करोड ८७ लाख ३८ हजार देखिएको थियो। त्यसमा जग्गा खरिद, विभिन्न बैंकबाट लिएको ऋणको साँवाब्याज, जेसिबी, स्कार्पियो, बोलेरो, ट्र्याक्टरलगायतका विभिन्न सवारीसाधन खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यु थ्री ब्रदर्स एन्ड बिल्डर्स र नीति कन्स्ट्रक्सनसमेतका व्यावसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालन, कृषि उपकरण खरिदसमेतमा लगानी गरेको आयोगको आरोपपत्रमा उल्लेख छ।
‘झाको समग्र आयबाट समग्र व्यय घटाउँदा हुन आउने दुई करोड ४४ लाख ७१ हजारबराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत खुलेन,’आयोगको आरोपपत्रमा उल्लेख छ । स्रोत नखुलेको यही सम्पत्तिबराबरको रकमलाई बिगो कायम गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध आयोगले दुई वर्षसम्म कैदको मागदाबीसमेत गरेको छ ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमध्ये स्रोत नखुलेको एक करोड ७५ लाख १३ हजार मूल्यबराबरको सम्पत्ति तथा आंशिक रूपमा स्रोत खुलेको ६३ लाख ७३ हजार मूल्यबराबरको सम्पत्ति एवं बाँकी अपुग बिगो झाको नाममा रहको नेपाल इन्भेस्टमेन्ट बैंकको मौज्दातबाट पाँच लाख ८४ हजारसमेत गरी दुई करोड ४४ लाख ७१ हजार जफत गर्नुपर्ने दाबी आयोगको छ ।
श्रीमती र छोराहरूको नाममा सम्पत्ति
गैरकानुनी रूपमा आर्जन गरेको र त्यसबाट बढे–बढाएको सम्पत्ति झाले पत्नी मीनादेवी झा तथा छोराहरू दिवाकरकुमार झा, शिवाकरकुमार झा र करुणाकरकुमार झाको नाममा राखेको भेटिएको थियो । उक्त सम्पत्ति जफत प्रयोजनका लागि आयोगले झाका पत्नी र छोराहरूसमेतलाई प्रतिवादी बनाएको छ ।
गैरकानुनी स्रोतबाट आर्जित सम्पत्तिबाट झाले ठूलो परिमाणमा घर–जग्गा किनेको देखिन्छ । आयोगले अदालतमा पेस गरेको आरोपपत्रअनुसार झाले स्वआर्जनबाट विभिन्न मितिमा १७ ठाउँमा जग्गा खरिद गरेका छन् । त्यस्तै, सातवटा घर बनाएका छन् । घरजग्गामा उनको एक करोड ४७ लाख लगानी देखिन्छ । सबै घरजग्गा उनले धनुषामै खरिद गरेका छन् । किनेका सातवटा घरजग्गा उनले बिक्रीसमेत गरेको देखिन्छ । चारवटा पैतृकसमेत गरेर हाल उनको २१ ठाउँमा घरजग्गा छ ।
तीनवटा कम्पनीमा लगानी
सरकारी सेवाबाटै अकुत सम्पत्ति आर्जन गरेका झाको तीनवटा कम्पनीमा लगानी देखिन्छ । त्यसमा नीति कन्स्ट्रक्सन प्रालि, करुणाकर इन्टरप्राइजेज प्रालि र न्यु थ्री ब्रदर्स एन्ड बिल्डर्स छन् । ती कम्पनीमा उनको साढे ३७ लाख लगानी देखिन्छ । यी सबै कम्पनी छोराहरूका नाममा छ । यी कम्पनीको कारोबार रकम एक करोड ८१ लाख ७० लाख रुपैयाँ देखिन्छ ।
कम्पनी र छोराहरूका नाममा करिब दुई करोडका सवारीसाधन छन् । त्यसमा मोटरसाइकल, ट्र्याक्टर, स्कारपियो जिप, महेन्द्र बोलेरो पिकअप, पावर टेक ट्र्याक्टर, लोडर (जेसिबी), स्कारपियो पिकअपलगायत छन् । यी सवारीसाधनको खरिद रकम एक करोड ८९ लाख ८३ हजार रहेको आयोगको आरोपपत्रमा उल्लेख छ । सवारीसाधनबाट उनले करिब ७० लाख आर्जन गरेको देखिन्छ । त्यस्तै, उनका नाममा थ्रेसर, कल्टी एडाभेटर र एडाभेटरजस्ता मेसिनरी उपकरण पनि देखिएको छ । घरजग्गा, कम्पनी, उपकरणलगायतमा झाले गरेको अधिकांश लगानीको स्पष्ट स्रोत खुल्दैन ।
खरिदार हुँदासम्म आम्दानी र खर्च हिसाब मिल्छ, नासु भएपछि थाले भ्रष्टाचार
लामो समय खरिदार नै रहेका उनी ०६४ चैतमा नासुमा बढुवा भएका थिए । खरिदार हुँदासम्म उनको आम्दानी र खर्चको हिसाब मिलेको देखिन्छ । नासु भएपछि भने गडबड देखिन्छ । यसले नासु भएदेखि नै उनले अनियमितता गर्न सुरु गरेको देखिन्छ ।
०६६/६७ मा उनको नौ लाख ५२ हजार रुपैयाँ खर्च तथा लगानीको स्रोत देखिँदैन । त्यसपछि ०६७/६८ देखि ०७०/७१ सम्ममा भएको ८० लाख पाँच हजार रुपैयाँ खर्च तथा लगानीको पनि स्रोत नभेटिएको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, ०७१/७२ मा चार लाख ६५ हजार, ०७२/७३ मा २६ लाख १६ हजार, ०७३/७४ मा २३ लाख ६ हजार, ०७४/७५ मा ६ लाख ५० हजार, ०७५ मसान्तसम्ममा १८ लाख ३४ हजार, ०७६ वैशाखदेखि असार मसान्तसम्म आठ लाख ८१ हजार र ०७६/७७ देखि ०७७/७८ सम्ममा ४३ लाख ९९ हजार रुपैयाँबराबरको खर्च तथा लगानीको स्रोत नभेटिएको आरोपपत्रमा उल्लेख छ ।
‘परीक्षण अवधिका विभिन्न वर्षमा आर्जित सम्पत्तिको स्रोत खुल्न नसकेको, परीक्षण अवधिमा एक करोड ८९ लाख ८३ हजार मूल्यको १० वटा सवारीसाधन खरिद गरेको, विभिन्न मितिमा २६ कित्ताका एक बिघा १५ कट्ठा जग्गा खरिद गरेको, तीनवटा घर निर्माण गरेकोसमेत देखिएबाट निज प्रतिवादी गणपति झाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी कुल दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै त्यस्तो सम्पत्ति आफू र आफ्नो परिवारका सदस्यहरूको नाममा समेत राखी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको सप्रमाण पुष्टि हुन आयो,’ झाविरुद्धको अभियोगपत्रमा उल्लेख छ ।आजको नयाँ पत्रिकाबाट