काठमाडौं। तराई/मधेसको लाइफलाइन मानिएको हुलाकी सडक निर्माणकार्य सुस्त हुँदा जनता निराश भएका छन्। मधेसको सामाजिक आर्थिक विकाससँंग जोडिएको सर्लाही जिल्लामा पूर्व संग्रामपुरदेखि पश्चिम छतौना गाउँको बागमती नदी किनारसम्मको ४२ किलोमिटर हुलाकी सडक निर्माण कार्य समयमै पूरा नहुदा हिउँदमा धुलो र वर्षात्को समयमा हिलोबाट आमनागरिक पीडित हुँदै आएका छन्।
वि.सं २०७३ सालमा सर्लाहीको हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने भनेर तीन प्याकेजमा ठेक्का लागेको थियो। हुलाकी राजमार्ग आयोजना कार्यालय, जनकपुरले सर्लाहीमा पर्सा गाउँपालिकाको संग्रामपुरस्थित बाँके खोलादेखि पश्चिम बलरा नगरपालिकास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाएर निर्माण गराइरहेको भए पनि लामो समयदेखि निर्माण कार्य पूरा हुनसकेको छैन।
छिमेकी जिल्ला महोतरीमा हुलाकी सडक निर्माण भए पनि सर्लाहीमा सम्बन्धित निकायको बदमासी कारण निर्माण कार्यमा ढिलाइ भएको यात्रु दीलिप साहको भनाइ छ। सडक विभाग, ठेकेदारलगायत कुनै पनि तहले निर्माणमा तादरुकता नदेखाउँदा हुलाकी सडकको अवस्था दयनीय हुँदै गएको छ। परिमाण स्वरुप मधेसको सामाजिक आर्थिक विकाससँंग जोडिएको हुलाकी सडक समयमै सम्पन्न नहुँदा स्थानीय उत्पादनले बजार पाउन सकैको छैन भने स्थानीयस्तरमा गरिबी र बेरोजगारी बढदै गएको छ।
हुलाकी सडकमा भएका ठूला ठूला खाल्डोका कारण गर्भवती महिलालाई सुत्केरी गराउन सदरमुकाम लैजानसमेत समस्या हुने गरेको स्थानीयबासी अशोककुमार कर्णले बताए। वर्षात्को समयमा सडक हिलाम्मे र बाटो खाल्डाखुल्डी हुदाँ सिकिस्त बिरामी, सर्पले टोकेका व्यक्ति तथा सुत्केरी गराउने महिला जोखिम मोलेर नै मलंगवा पुग्न बाध्य भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार हुलाकी सडकको के कति प्रगति भयो, किन रोकिएको हो। तुरुन्त काम अगाडि बढाउनुपर्छ भनेर प्रगति विवरण मागेका थियौं। उनीहरूले प्रगति विवरण बुझाएका छन्।
हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले भने हुलाकी सडक निर्माणको काम धमाधम अघि बढिरहेको दाबी गरेका छन्। उनले बाँके र बागमती दुवैतर्फबाट केही किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै जेठको अन्तिम सातातिर सडक निर्माणमा गति देखिने दाबी गरेका थिए, तर जेठ महिना बितिसकेको भए पनि निर्माण कार्य अहिले पनि कछुवाकै गतिमा देखिएको छ।
कारोबार दैनिकबाट