काठमाडौं। निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछाप जिल्लाको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य अलपत्र बनेको छ। भारतीय एक्जिम बैङ्कको सहयोगमा करिब अठार महिनादेखि कालोपत्रेका लागि सडक विस्तार सुरु गरिएकोमा सडक निर्माणको काम बीचैमा छोडेर निर्माण व्यवसायी हिँडेपछि सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ।
अलपत्र सडकका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ भने ठाउँठाउँका बस्ती र विद्यालयसमेत जोखिममा परेका छन्। सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछाप नगरपालिका–२, देउरालीस्थित खत्रीगाउँका ३० घरपरिवार जोखिममा परेका छन्।
स्थानीय भरतबहादुर बुढाथोकीले बस्तीका ३० भन्दा बढी घर उच्चजोखिममा परेको भन्दै समयमा संरक्षण नभए जनधनको क्षति हुने सम्भावना रहेको जानकारी दिए। उनका अनुसार बस्तीको तल र माथिबाट पहिरो गइरहेको छ।
मनलाग्दी रूपमा भत्काइएको सडकले घरमाथि र तलबाटै पहिरो जान सुरु भएकाले पानी परेको समयमा राति सुत्नसमेत डरमर्नु भएको अर्का स्थानीय ७० वर्षीय कृष्णकुमारी खत्रीले बताए। ‘घरमाथिको सडकमा पानी जम्छ, जमेको पानी बाढी आएजस्तै गरी झर्छ। यस्तो अवस्थाको घरमा अब कसरी बस्नु, सरकारलाई जनताका समस्याबारे केही मतलब नै छैन,’ उनले भने।
सडकको भित्ता काटेर अलपत्र अवस्थामा छाडिदिँदा रामेछाप नगरपालिका–२, देउरालीमा रहेको कालिकादेवी माध्यमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक ऋषि खड्काले बताए। बीचमै काम छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन बन्दा पनि जिल्लाका जिम्मेवार निकाय बेखबर रहेका छन्। सडकमा काम गर्ने मजदुरलाई समेत ज्याला नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्।
कुल एक अर्ब ९४ करोड ७१ लाख रुपियाँमा काम सम्पन्न गर्नेगरी भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले सडक विस्तारको जिम्मा लिएको थियो।
सडक निर्माण कार्यलाई निरन्तरता दिन, मजदुरको ज्याला दिन, जोखिममा रहेको बस्ती तथा विद्यालयको जिम्मेवारी लिन भन्दै रामेछाप नगरपालिकाले निर्माण कम्पनी र सरोकारवाला निकायलाई पत्र काटिएको नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए।
‘सडकका कारण गाउँबस्ती र विद्यालय जोखिममा छन्, भोलि कुनै क्षति भएमा यसको पूर्ण जिम्मेवारी आयोजना आफैँले लिनुपर्ने र मजदुरलाई दिनुपर्ने ज्यालाबापतको रकम तत्काल प्रदान गर्न भन्दै नगरपालिकाबाट पत्र काटेका छौँ’, उनले भने।
गोरखापत्र दैनिक