काठमाडौं। जयनगर–कुर्था रेल मार्गमा नियमित मालबाहक रेल सेवा सञ्चालन गर्न माग गरिएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा ५ जिल्लाका उद्योगी व्यवसायीले मालबाहक रेल सञ्चालनको माग गरेका हुन्।
छलफलमा मधेश प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालबाहक रेल सेवा सञ्चालन गर्न माग गरेका छन् ।
हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालबाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महंगी समेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।
छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक ५र६ ट्रक मालसामान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालबाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए ।
तथ्यांककै आधारमा मालबाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको बताइएको छ।
छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालबाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । भारतबाट दैनिक कति परिमाणमा मालसामान ल्याइन्छ भनेर तथ्यांक मागेको उनको भनाइ। उनले तथ्यांक उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने बताए।
गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए। त्यसयता रेल सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ। यात्रु चढाउन र झार्न ७ ठाउँमा स्टेसनरहल्टको व्यवस्था गरिएको छ। कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेसनको व्यवस्था छ।