काठमाडौं। बंगलादेशमा सबै भन्दा लामो पुल निर्माण भएको छ। माथी गाडी र तल रेल चल्ने देशकै ६.१५ किलोमिटर लामो पुल निर्माण भएको हो।
निर्माण सम्पन्न भएको उक्त पुलको प्रधानमन्त्री शेख हसिनाले हिजो (शनिबार) उद्घाटन गरेकी हुन्। सञ्चारकर्मिहरुका अनुसार करिब ४ अर्ब डलर लागतमा निर्माण गरिएको सो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने छ।
दुई तहको स्टिल ट्रस पुलमा माथिल्लो तहमा गाडी गुड्ने चार लेनको राजमार्ग छ भने, तल्लो तहमा एकद्धार रेलमार्ग रहेको छ। धेरै समयदेखिको लामो विवाद र भ्रष्टाचारको आरोपका कारण पुल निर्माणमा वषौँ ढिला भएको थियो। उक्त पुल निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनीले पाएको थियो।
पुलको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री शेख हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतिक रहेको बताईन्। दक्षिण एसियाली राष्ट्रको इतिहासमा यो पुल महत्वपूर्ण रहेको बताइएको छ।
६.१५ किलोमिटर लामो पुलको निर्माण सन् २०१५ नोभेम्बरबाट सुरु भएको थियो। सो पुलले देशको दक्षिण पश्चिमका २१ जिल्लाहरुलाई ढाकासँग सडक र रेलको माध्यमबाट जोडेको छ।
दक्षिणपश्चिम जिल्ला बाट ढाका पुग्न १५ देखि २० घण्टा लाग्थ्यो लामो यात्रा गर्नु पर्ने भएकाले खर्च र समय बढीलाग्ने गरेको थियो। अहिले पुल निर्माण भएपछि समय र खर्च दुबैको सदुपयोग हुने विश्वास गरिएको छ।
बंगलादेश सरकारको ३.८७ अर्ब अमेरिकी डलर लागतमा मा निर्माण गरिएको सो पुल बंगलादेशको अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना मध्येको एक हो।
भ्रष्टाचारको आरोप पछि सन् २०१२ मा विश्व बैंकले सो परियोजनाको लागि १.२ अर्ब ऋण दिने सम्झौता खारेज गर्यो। यसका साथै एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) लगायत अन्य दातापनि परियोजनाबाट बाहिरिएका थिए।
पुल निर्माणमा संलग्न सबै दातृ संस्थाहरु बाहिरिएपनि प्रधानमन्त्री हसिनाले यस परियोजनालाई आफ्नो सरकारले लगानी गरी निर्माण गर्ने घोषणा गरिन्। उनको यो निर्णले देशका अर्थशास्त्री देखि राजनैतिक विरोधीहरु पुल निर्माण सम्भव छैन भन्दै विरोधमा लागेको थिए। किनकि बंगलादेशमा बहुपक्षिय दाताहरुको वित्तिय समर्थन बिना यति ठूलो आधारभूत सैरचना निर्माण गर्ने कुनै अनुभव थिएन।
पुलको उद्घाटन गर्दै उनले केही मानिसहरुले त यति ठूलो पुल बंगतादेशले निर्माण गर्न सक्दैन भनेर व्यक्त गरेको शंकालाई पुल निर्माणले जवाफ दिएको बताईन्। उनले भनिन्, यो पुल इँटा र सिमेन्टको थुप्रो मात्र होइन, बंगलादेशको गौरव, सम्मान र क्षमताको प्रतिक पनि हो।
आर्थिक हिसाबले नेपालको जस्तै अर्थतन्त्र रहेको बंगलादेशले कोभिड १९ को महामारिको बाबजुद पनि निर्माण सुरु गरेको साढे ६ वर्षको समयअवधीमा देशकै ठूलो पुल निर्माण सम्पन्न गरेको छ। नेपालको स्थीतिमा हेर्दा न्यून लागतको पुल निर्माण गर्न पनि वषौँ सम्म निर्माण सम्पन्न नगरेर ठेक्का सम्झौता तोडिएको पाइन्छ। नेपाल सरकार, निर्माण व्यवसायी तथा सरोकार निकायले यस्ता कार्यबाट केहि सिक्न जरुरी देखिन्छ।