काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक मुद्रामा आँसु पुछ्दै राजीनामा दिने बताएकी हुन्।
मन्त्रालयमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनको सुरुवातमै झाँक्री भावुक मुद्रामा रूँदै प्रस्तुत भएकी थिइन्। मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा झाँक्रीले आँसु पुच्छ्दै विदाइ स्वीकार गरेकी हुन्।
पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् । मन्त्री झाँक्रीसँगै नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आइतबार राजीनामा दिएर मार्गप्रशस्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गरेकी छन्।
सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले गरेको निर्णयका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपिषद् पुनर्गठनको सिफारिस गरेका थिए।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेको जानकारी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ मन्त्रीमा बढुवा भएका हुन्।