काठमाडौं। झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण गरिएको हो।
गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमले जनाएको छ।
केही घर निर्माणका क्रममा छन्। सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ।
संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिकाले जनाएको छ। धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको छ।
परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको छ। एउटा घर निर्माणमा एक लाख ८५ हजार लाग्ने बताइएको छ।