काठमाडौं। तानसेनको बतासेडाँडामा बनेको ‘श्रीनगर सांस्कृतिक डबली’ निर्माणको काम सकिएको छ। जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण थालिएको सांस्कृतिक डबली निर्माणको काम सकिएको हो।
लुम्बिनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली (खुल्ला नाच घर) निर्माणको काम सकिएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख रामहरि पाण्डेयले जानकारी दिए। वि.स. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली (खुला नाच घर) निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी सकिएको डिभिजन प्रमुख पाण्डेयले बताए। डबली निर्माणको काम सकिएको छ अब सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्छौँ, प्रमुख पाण्डेयले भने।
सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा चिटिक्क पारिएको छ। यस्तै, स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत रङ्गरोगन गरेर निर्माण भइसकेको छ। डबलीभित्र बसेर पाँच सय जना मानिसहरूले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्नेछन्।
जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको हो। यसले जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले बताए। तानसेन घुम्न आउने र खास गरेर रानीमहल आउने पर्यटकका लागि सांस्कृतिक डबलीमा नाच, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति देखाउन सकिन्छ, उनले भने।
लुम्विनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यका अन्य पर्यटकीय पूर्वाधारसहित सांस्कृतिक डबलीमा लगानी गरेको जनाएको छ। सांस्कृतिक डबलीभित्र लुम्विनी प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिभित्र प्रचलित नाच तथा भेषभूषा प्रदर्शन गर्न सकिनेछ।
सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा वृद्धि हुने र आन्तरिक रोजगारी बढ्ने अपेक्षा गरिएको छ। सांस्कृतिक नाच घर बनेपछि पाल्पाका लोप हुँदै गएका नाचको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रले गति लिने पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताए। गोरखापत्रबाट