फाइल तस्बिर
काठमाडौं। सडक डिभिजन कार्यालय काठमाडौंले पटक–पटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ ।
उक्त कार्यालयले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि १९ करोड रुपैयाँको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महीना समय दिए पनि भण्डारर थोडुङर वल्र्डवाइडर महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले जानकारी दिए ।
ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले १ हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ । २ हजार २०० मिटर सडकमा अझै भएको छैन । सडकको दायाँबायाँ लगाएको पर्खाल पनि ठाउँ ठाउँमा भत्केको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ र ५ जोड्ने मनोहरा बोदिनी खहरेमा कम गुणस्तरको काम भएको स्थानीय सीताराम नेपालले गुनासो गरेका छन्।
यो खहरेमा दायाँबायाँ निर्माण गरिएको खहरे बाढीले बगाएको छ । निर्माण व्यवसायीले काम गरिसकेको केही महीनामै आएको बाढीले पर्खाल भत्काएको हो । खहरे खनेर गहिरो बनाउँदा हिमपाइप राखेर सवारी तार्न सकिने गरी बनाइएको अस्थायी पुल बगाएको उनले बताए । खहरेको बाढीले सडक जलमग्न हुने गरेको छ ।
उक्त कार्यालयले तीन पटकसम्म सडक निर्माणको समय थप गरेको छ । निर्माण व्यवसायीलाई पटकपटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले बताएको छ । पछिल्लो पटक असार १० गते पनि छिटो काम गर्न भन्दै डिभिजनले पत्राचार गरेको थियो ।
काम नगरे किन कानूनी कारबाहीको प्रक्रिया अघि नबढाउने भनी पत्राचार गरिएको छ । तीन दिने म्याद दिएर कार्यालयमा हाजिर हुन निर्माण व्यवसायीलाई निर्देशन दिए पनि आएका छैनन् । प्रतिक्रियाका लागि निर्माण व्यवसायी उमेश लामालाई पटकपटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
ठेक्का भएको पाँच वर्षदेखि अलपत्र बनेको सडकका कारण यस क्षेत्रका हजारौं स्थानीयवासी मर्काका परेका छन् । यो सडक निर्माण हुँदा काठमाडौंको उत्तरपूर्वी भेगका मानिसलाई कोटेश्वर नाकाबाट काठमाडौं छिर्न सहज हुन्छ।
सडक जामका बेला पनि यो सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिन्छ । यो सडकबाट साँखु हुँदै मेलम्ची जान पनि सहज हुन्छ । सडक पूरा भएपछि कोटेश्वर, गौशाला, चावहिल, जोरपाटीलगायत स्थानको जाम छलेर यात्रु साँखु पुग्न सक्छन् ।