काठमाडौं। आगामी वर्ष नेपालमा खपत भएर बढी हुने विद्युत भारतमा बेचेर १५ देखि २० अर्ब आम्दानी गर्ने तयारी गरिएको छ। राष्ट्रियसभामा मन्त्रालयका विषयगत कार्यक्रमबारे जवाफ दिँदै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी वर्ष वर्षायममा खपत भएर बढी हुने बिजुली भारतमा बेचेर १५ देखि २० अर्ब आम्दानी गरिने बताएकी हुन्।
आगामी पाँच वर्षपछि हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना रहेको भुसालको दावी छ । मन्त्री भुसालले गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैया ७ पैसा प्रति युनिट रहेको जानकारी दिइन् । अहिले नेपालले औसतमा ११ रुपैयाँ ३८ पैसा प्रति युनिटमा बिजुली बेचिरहेको उनको दाबी छ ।
उनले भनिन्, ‘विद्युत् उत्पादनको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको छ।
नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गर्नुपर्छ भन्नेमा विमति नरहेको भन्दै उनले विद्युतको आन्तरिक खपत बढाएरै देश समृद्ध हुने बताइन्।
मन्त्री भुसालले भनिन्, ‘सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । जसका कारण यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको छ। हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिने छ।’
आगामी आर्थिक वर्षदेखि हरेक वर्ष राष्ट्रिय प्रणालीमा करिब ७ सयदेखि १ हजार मेगावाट विद्युत् थपिँदै जाने उनले जानकारी दिइन् । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने मन्त्री भुसालको दावी छ ।