स्याङ्जा। पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाभित्रका तीन सडकको २०.५ किलोमिटर कालोपत्रे गरेको छ। गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र सडकअन्तर्गत क्षेत्र नम्बर १ ‘क’को घुम्ती चिसापानी, ‘ख’को नागडाँडा कार्कीनेटा र क्षेत्र नम्बर २ को गल्याङ र चापाकोट खण्ड कालोपत्रे गरिएको हो ।
दैनिक सयौँको सङ्ख्यामा साना ठूला सवारीसाधन सञ्चालन हुने तीनवटै सडकमा घाम लाग्दा निक्कै धुलो र पानी पर्दा हिलाम्मे हुने गरेको थियो। पूर्वाधारले पुतलीबजार नगरपालिका–४ बाट आँधीखोला हुँदै पर्वत जोड्ने जिल्लाको ४० वर्ष पुरानो सडकको १० किलोमिटर कालोपत्रे गरेको हो। स्याङ्जाको नागडाँडा हुँदै कार्कीनेटा सडकको जुग्लेसम्मको सडक कालोपत्रे भएको अर्यालले बताए। २२ किलोमिटर लामो सडकको पहिलो खण्ड कालोपत्रे भएको हो भने दोस्रो खण्ड कालोपत्रे गर्ने गरी सम्झौतासहित अगाडि बढाएको छ।
२०१९ जुलाई १२ मा दुई वर्षमा सक्ने गरी एमएस ओयसिस इन्जिनियरिङ एन्ड बिल्डर्स काठमाडौँले सम्झौता गरेकोमा छ महिना ढिला काम सकेको हो। एमएस ओइसिसले २६ करोड ४४ लाख ४३ हजार ४२९ रुपियाँ ६९ पैसामा डीबीएटी कालोपत्रे गरेको हो। सडक कालोपत्रेसँगै पर्वतबाट स्याङ्जा हुँदै पोखरासम्म यात्रा सहज भएको छ। यस्तै पूर्वाधारले पुतलीबजारको घुम्ती हुँदै हरिनाश सदरमुकाम चित्रे जोड्ने सडकको काउलेसम्मको ५.५ किलोमिटर सडक कालोपत्रे गरेको हो। चित्रेसम्मको २७ किलोमिटरमध्ये थप दुई किलोमिटर कालोपत्रे गर्ने तयारी छ।
२०७६ साल वैशाख १६ गते दुई वर्षमा सक्ने गरी सम्झौता गरेकोमा कोभिडका कारण समय थप्दै तोकिएको समयभन्दा एक वर्ष ढिला काम सकिएको हो। किराँतेश्वर पाण्डे जेभी काठमाडौँले सम्झौताअनुसारको प्रिमिक्स कारपेट कालोपत्रे गरेको हो।
किराँतेश्वर पाण्डे जेभीले सडक १६ करोड २७ लाख २२ हजार ४७३ रुपियाँ ५५ पैसामा काम सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष अर्यालले बताए। यस्तै गल्याङ र चापाकोट खण्डको सडक ट्र्याक खोलेको २८ वर्षपछि कालोपत्रे गरिएको छ। गल्याङ–चापाकोट सडकखण्डको गल्याङदेखि बारीचौरसम्म पाँच किमि सडक ‘अस्फाल्ड प्रविधि’ को प्रयोग गरी कालोपत्रे गरिएको हो।
कालीगण्डकी नदीको किनारबाट निर्माण गरिएको यो सडक दक्षिणपूर्वी स्याङ्जालाई सिद्धार्थ राजमार्गसँग जोड्ने महत्वपूर्ण सडक हो। सडकमा लामा कान्तिपुर जेभी काठमाडौँले आठ करोड ८१ लाख ४८ हजारमा ठेक्का सम्झौता गरी काम गरेको हो। २१ किलोमिटरमध्ये अब कालोपत्रे हुन १६ किलोमिटर बाँकी रहेको र निरन्तर कालोपत्रे गर्दै अगाडि बढ्ने पूर्वाधार प्रमुख अर्यालले बताए। सडक कालोपत्रेसँगै गल्याङ नगरपालिकाको केन्द्रदेखि चापाकोट नगरपालिकाको केन्द्रसम्म जोडिनेछ। दुई वर्षमा सक्ने गरी २०७७ फागुनमा ठेक्का सम्झौता भएकोमा काम थाल्न ढिलाइ भएको र थालेको छ महिनामा काम सकेको अर्यालले बताए। गोरखापत्र दैनिक