काठमाडौं। सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नको लागि प्रयोग गर्ने गरिन्छ। तर धनकुटामा भने सिँचाइका लागि समेत झोलुङ्गे पुल उपयोगीसिद्ध देखिएको छ।
नदीपारिको प्रयोगविहीन पानीलाई वारिको खेतीयोग्य जमिनमा प्रयोग गर्न झोलुङ्गे पुल माध्यम बनेको हो। धनकुटाको शहीदभूमि– १ सफाइटारका स्थानीय किसानहरुले तमोर नदीपारि साँगुरीगढी गाउँपालिकाको लेमलेमा खोलाबाट पानी ल्याएर सिँचाइ गर्दै आएका छन्। गाउँपारी प्रयोगविहीन पाखोमा खेर गएको पानी गाउँसम्म ल्याउनका लागि नदीमा चार सय मिटरको पक्की कुलो निर्माण गरिएको छ।
पानीलाई तमोर नदीपारि तार्न भने करिब सात सय मिटर लामो फलामे पाइपमार्फत झोलुङ्गे पुलको प्रयोग गरिएको छ। नदी पारिको पानी वारि ल्याउने अन्य कुनै विकल्प नभएपछि झोलुङ्गे पुलमार्फत ल्याइएको आयोजनाका पूर्व अध्यक्ष कुलबहादुर खड्काले बताए। “पारि पानी खेर गइरहेको थियो हाम्रोतिरका जमिन बाँझा थिए बीचमा तमोर नदी भएकाले पानी ल्याउन सम्भव थिएन, अनि सोच्यौं तमोर नदीमा झोलुङ्गे पुल लगाउन पाए त घाँस दाउरा गर्न ओहोरदोहोर गर्न मात्र हैन पुलको प्रयोग गरी पानी वारि ल्याउन सकिन्छ भन्ने लाग्यो अनी झोलुङ्गे पुलका लागि पहल गर्यौ” खड्काले भने।
वि.सं.२०२८ सालबाट नदीपारिको पानी वारि ल्याउन माग राख्दै आएका स्थानीयवासीले २०५३ सालमा तमोर नदीमाथि जिल्ला विकास समिति धनकुटाले पुल निर्माण गरेपछिमात्र सम्भव भएको थियो। पुल निर्माण भएपछि सुरु गरिएको सिँचाइ आयोजना करिब नौ लाख रुपियाँको लागतमा २०५६ सालमा मात्र पूरा भई गाउँमा सिंचाइ सुविधा पुगेको आयोजनाका अध्यक्ष हरिबहादुर खड्काले बताए।
उक्त आयोजनाबाट २८ वर्ष यता सफाइटारका ५२ परिवारले करिब ५० हेक्टर जमिन सिँचाइ गर्दै आएका छन्। सिंचाइकै कारण स्थानीयको जीवनस्तरमा सुधार आएको छ। हाल उनीहरु व्यावसायिक कृषि पेसा र्फ आकर्षित भएका छन्। यही आयोजनालाई आधार मान्दै धनकुटाको साप्तीङ्गटारमा समेत तमोर नदी पारिबाट अर्को आयोजना सञ्चालनको तयारी गरिएको सिंचाइ डिभिजन कार्यालय धनकुटाले जनाएको छ।
यस्ता आयोजना धनकुटाबाहेक पहाडी क्षेत्रका लागि समेत उपयागी हुने सिंचाइ डिभिजन कार्यालय धनकुटाका सिनियर एसोसिएसन अर्गनाइजर बुद्धिमान लिम्बूले बताए। यस प्रकारका आयोजना सञ्चालनले पानीको स्रोत भएका तर उपयोगविहीन पानी नदी वा खोला तारेर बस्तीसम्म पुर्याउन यस्ता पुल र आयोजना सफलसिद्ध हुने लिम्बूको भनाइ छ। गोरखापत्रबाट