काठमाडौं। पर्वतको मोदी गाउँपालिकाले सबै वडामा हेलिप्याड निर्माण हुने भएको छ। गाउँपालिकामा रहेका ८ वटै वडामा हेलिप्याड निर्माण हुने भएको हो।
गाउँपालिका नागरिकहरु बिरामी पर्दा वा अन्य विपद्का घटनामा आकस्मिक उद्धार तथा राहत प्रदान गर्न सकियोस् भनेर हेलिप्याड निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शुक्रवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७९।८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सबै वडाको केन्द्रविन्दुमा एक।एक ओटा हेलिप्याड निर्माण गरिने भएको हो।
पालिकाका ८ ओटै वडामा यातायाताको सुविधा पुगेको छ। त्यसमध्ये धेरैजसो वडामा पक्की सडकको समेत पहुँच रहेको छ। तर पनि विकट वस्तीहरुमा आकस्मिक उद्धार र राहत तथा अन्य भैपरी आउने घटनाहरुका लागि हेलिप्याड बनाउने कार्यक्रमलाई प्राथमिकताका साथ राखिएको गाउँपालिकाले जनाएको छ।
उपयुक्त स्थानको छनौट गरेर आगमी आर्थिक वर्षभित्रै सबै वडामा हेलिप्याड बनाउन बजेट समेत विनियोजन गरिएको हो।
गाउँपालिकाले २० युनिटसम्मको विद्युतको शुल्क व्यहोर्ने गरी रू. १८ लाख विनियोजन गरेको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा उद्यमशिलताको विकास, स्वरोजगारमुलक कार्यक्रम, स्वरोजगार धितो कोष, वृहत कृषि गुरुयोजना, प्राविधिक कृषि शिक्षा, कृषि एम्बुलेन्स, पाडापाडी संरक्षण, कोल्ड स्टोर निर्माण, रैथाने बाली प्रवर्द्धन, कृषक राहत कार्यक्रम जस्ता कुराहरुलाई प्राथमिकतामा राखिएको बताइएको छ।