चितवन। नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्। डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन्।
ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन्। तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ। त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए। त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन्। ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो।
कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउँछन्। राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन्। सडक पुनःनिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुलःनिर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए।
उनले भने “मुख्य रुपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ।” ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो। सो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ, भने १४ निर्माणको अन्तिम चरणमा रहेको छ। एउटा निर्माण सुरु हुने प्रक्रियामा छ। नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो।