काठमाडौं। राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो।
मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ।
मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ।
मुद्दा दायर गरिएकामा पशुपति रोड क्यारियर्सका सञ्चालक महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारी उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन्।
त्यस्तै, मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ।