बागलुङ। कालोपत्रे नसकिँदै मध्यपहाडी लोकमार्ग अन्तरगतको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत बनेको छ। यो सडक खण्डसँगै बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो।
ठेकेदार कम्पनीले कमसल सामग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ।
बागलुङ सदरमुकामदेखि बिहुँसम्मको खण्ड कालोपत्रे गर्न बाँकी रहेपनि बिहुँ हुँदै गलकोट–बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न गरिएको थियो। कालोपत्रे गरिएका ती खण्डका अधिकांश भाग भलले उक्काइदिएको छ। त्यसबाट करोडौँ रुपैयाँको क्षति पुगेको छ।
हटिया–बुर्तिबाङ खण्डमा ९५ प्रतिशत काम सम्पन्न भए पनि निर्माण कम्पनी स्वच्छन्द–शङ्कर जेभी सम्पर्क विहीन हुँदा सडक अस्तव्यस्त बनेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतले जनाएको छ।
बुर्तिबाङ–पातिहाल्नेसम्मको ९५ प्रतिशत काम सकिएको र यो आर्थिक वर्षसम्म सकिने कार्यालयले जनाएको छ। क्षतविक्षत बनेको सडकमा यात्रा गर्दा निकै जोखिम बढेको गाडी चालक रमन कँडेलले बताए।
उनले सडकको धेरै खण्डमा खाल्डाखुल्डी परेको हुँदा गाडीको चक्का पस्ने हुँदा यातायात नै ठप्प हुने बताए। ‘बाटोको बीच भागमै ठूला–ठूला खाल्डाखुल्डी परेका छन्, त्यही खाल्डामा गाडीको चक्का फस्छ, त्यो निकाल्न घण्टौँ लाग्छ, त्यसले गर्दा पछाडिका गाडीहरु जाममा पर्ने गर्छन्,’ कँडेलले भने ‘यात्रुहरु समयमै गन्तव्यमा पुग्न पाउँदैनन्, निकै समस्या भइरहेको छ, सरकारले ध्यान नदिएरै यस्तो समस्या परिरहेको छ।’
अर्का चालक चन्द्र बहादुर तामाङले यो सडकमा यात्रा गर्दा गाडीका पत्ता भाँचिदा घाटा मात्रै व्यहोर्नु परेको बताए। तामाङले सडकको छेउछाउमा रहेका नालीहरूमा झारपात उम्रिएको र माथिबाट आएको भल सबै सडकमा बग्दा कालोपत्रे उक्किएको बताए।
सडकको बीच भाग भएर बग्ने भलसहितको पानीले सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा बनाएको हुँदा सवारी साधन संचालन गर्न नसकिने भए पनि बाध्यताले जबरजस्ती चलाउनु पर्ने अवस्था आएको बताए। थाहाखबरबाट