लमजुङ। लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवन पहिरोको जोखिममा परेको छ। उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको वडाध्यक्ष रिसमाया गुरुङले बताए।
उनका अनुसार वडा कार्यालयको केही मिटर माथि सडक छ। सडक माथिबाट पहिरो झरेको छ। उक्त पहिरोको सडक हुँदै तल झर्दा वडा कार्यालयको भित्तासम्म आइपुगेको छ। भवनको पछाडिको भागसम्म ढुंगा, मुढा र माटो थुप्रिएको छ।
गत जेठ २३ गते सामान्य झरेकोमा पछिल्लो दिनमा पहिरो बढ्दै गएको बताए। वडा कार्यालयको पीढिसम्म लेदो आएको छ। पानी परिरहेमा पहिरो झन् बढ्न सक्ने र भवन नै बगाउने जोखिम रहेको बताए।
पहिरोले ल्याएको फोहोर सफा गर्दै वडा कार्यालय सञ्चालन गर्ने र सेवाग्राहीलाई सेवा दिने गरिएको छ। वडा कार्यालय दिउँसो सञ्चालन हुने भएकाले ज्यानको जोखिम कम भएपनि रातभर पानी आउँदा कार्यालय लैजान चिन्ता थपिएको बताए। जोखिमको बाबजुत पनि कार्यालय सञ्चालन गरेको अन्य विकल्पको खोजी गरिनसकिएको बताए।
उक्त पहिरोले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ। कक्षाकोठासम्म भल पस्ने गरेको विद्यालयका प्रधानाध्यापक विक्रम गुरुङले बताए। उनका अनुसार लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ। गत बर्षतिर धाँजा फाट्ने गरेपनि यसबर्ष पहिरो नै चलेको छ।
विद्यालयको तारजाली पुरेको छ। कक्षाकोठामा पहिरो पसेको छ। विद्यालय बन्द भएकाले पठनपाठन नभएको र पठनपाठन भएको भए विद्यार्थीलाई बढी जोखिम हुने बताए। करिव २० मिटर माथिबाट पहिरो खसेको बताए।
विद्यालयमा कार्यालयसहित ६ वटा कोठा छ। शौचालय छ। पहिरो झर्ने क्रम बढ्दै जाँदा सिंगो विद्यालयनै जोखिममा रहेको गुरुङले बताए। उक्त विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुन्छ। विद्यार्थी १२ जना छन्। पहिरो बढ्दै गएमा उपल्लो माझखर्कका करिव २०० घरधुरीमा जोखिममा पर्ने स्थानीयले बताएका छन्। रातको समयमा निरन्तर पानी पर्ने गरेकाले स्थानीय त्रसित भएका छन्। गोरखापत्रबाट