काठमाडौं। सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ। निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन।
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो। हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ। यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन।
दश वर्षअघि जिल्ला समन्वय समिति पाल्पाको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको थियो। सोही ट्रयाकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा स्थापित गर्ने योजना अघि सारेको थियो।
प्रदेश सरकारले २०७५ सालमा यो सडकका लागि १० करोड रुपियाँ रकम विनियोजन गरेको थियो । त्यस्तै, पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म विनियोजन गरेर खर्च गरेका थिए।
हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माण भएको छ। उक्त क्षेत्रमा २० करोड रुपियाँ खर्च भइसकेको छ। पाल्पा क्षेत्रको मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुने बताइएको छ।
पाल्पा क्षेत्रको साढे चार किलोमिटर सडक बनाउन समस्या रहेको प्राविधिक बताउँछन्। उक्त क्षेत्र चुरे क्षेत्रमा पर्ने भएकाले सडकको संरचना बनाउन समस्या भएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए।
‘मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन गर्न सकेका छैनौँ।’ न्यौपानेले भने।
सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ। तर उक्त संरचना वर्षाको समयमा पानीसँगै बग्ने गरेको छ। चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा, बजेट विनियोजन कम हुँदा र चुरेमा सडक बनाउने प्रणाली नमिल्दा पाँच वर्ष बित्नै लाग्दासमेत वैकल्पिक मार्ग अलपत्र परेको हो।गोरखापत्रबाट