कैलाली। टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरमा निर्माणधीन तटबन्ध भत्काएर गाउँ पसेको कर्णालीको बाढीले तल्लो शाहीपुर, सिमे्रनी सत्तीको पूर्व भाग हुदै अर्नवाफाँटा, कुमालगाऊँ, चौगुर्दीमा डुबान र कटान गरिरहेको छ।
बाढीले टीकापुर नगरपालिका वडा नं ८ स्थित बनगाऊ क्षेत्रको हुलाकी राजमार्ग बगाएको छ। अहिले हुलाकी राजमार्ग कटान गरेर ३०० मिटरको फैलावटमा कर्णाली नदि बगिरहेको छ। भारतले कैलाशपुरी बाँध बन्द गरिरहेको हुनाले पानी थुनिएर दक्षिणबाट भरिदै हुलाकी राजमार्ग नजिक पुग्न लागेको र सीमा क्षेत्रमा पानी भरिइ रहेको छ। सोही बाढीले हुलाकी राजमार्गस्थित जीतु कटेज, माउण्टेन होटलमा क्षति पुर्याएको छ। हाल बाढी बगिरहेको क्षेत्रमा कर्णाली तटबन्ध बन्नु अघि पनि बाढी पसेकाले बस्ती पातलो नै रहेको छ ।
बाढी पसेको क्षेत्रका मानिसहरु टीकापुर नगरपालिका बसन्तास्थित त्रिभुवन राष्ट्रिय मावि, वडा नं ८ को राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुर र अन्य विभिन्न स्थानमा बनेका उच्चा घरमा राखिएको छ। त्यस्तै जमरा कुला र त्यसका शाखा कुलामा आएको बाढीले प्रभावित भएकाहरुका लागि टीकापुर नगरपालिका वडा नं १ स्थित कर्णाली मावि र खड्ग स्मृति माविमा राख्ने तयारी भैरहेको टीकापुर नगरपालिकाको जानकारी दिएको छ।
नगर प्रमुखले बजार क्षेत्रमा छ वटा जेसीवी प्रयोग गरेर पानी निकास गरिरहेको र नेपाली सेना, सशस्त्र प्रहरीले बुधबार विहानै टीकापुर नगरपालिका वडा नं ८ बञ्जरिया क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गरिरहेको जानकारी दिएका छन्।
शाखा कुलोमा पसेको बाढीले मुक्त कमैंयाका ११ घर भत्काएको छ भने रानी कुलाको बाढीले शक्तिनगरमा आठ वटा घर भत्काएको छ। त्यस्तै विजयनगरमा २ वटा घर बाढीले भत्काएको छ।
कर्णाली नदीको बाढी रानी र जमरा कुलामा पसेर त्यसका शाखा कुलाको वरिपरि क्षति पु¥याइ रहेको साथै रानी कुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नम्बर १ को शक्तिनगर, वडा नंम्बर २ को विजयनगर हुँदै दक्षिणका बस्तीमा डुबान गरिरहेको छ।
त्यस्तै विजयनगरमा २ वटा घर बाढीले भत्काएको छ भने एउटा घर हात्तीले भत्काएको स्थानीय भागिराम चौधरीले जानकारी दिनुभएको छ। जमरा कुलामा आएकाईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षकले हिजो साँझसम्म बाढी पसेका ठाउका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको र राति १० बजेपछि टीकापुर बजार क्षेत्रमा माथिल्लो क्षेत्रबाट आएको बाढीले प्रभावितलाई उद्धार गरिएको तर मानवीय क्षति भने विहानसम्म नभएको जानकारी दिएका छन्।
यस्तै जानकी गाउँपालिका वडा नं ९, ६ र ३ मा पनि बाढी पसेर क्षति गरेको छ। जानकी गाउँपालिकाका अनुसार कर्णालीमा माछा मार्न गएका जानकी गाउँपालिका वडा नम्बर ८ पूर्व खैरिफाँटाका तीन जना नदीको टापूमा अडकिएका छन्। कर्णाली नदीको बाढीको सतह केहि मात्रामा घटेको छ। कर्णालीमा बाढी ११ मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ तर बुधबार विहान ७ः०० बजेको रेकर्डलाई हेर्दा बाढीको सतह १२ मिटर रहेको छ। त्यो भन्दा अगाडी बाढीको बहाव बढेर १३ मिटर १० सेन्टिमिटर रेकर्ड कायम गरेको थियो।
कैलालीको लम्कीचुहा नगरपालिका वडा ३ का ३ जना र गोदावरी नगरपालिकामा १ जना बेपत्ता भएका छन् भने गोदावरी नगरपालिका वडा नं ८ स्याउलेका १ जना मंगलबारै खुटिया खोलामा ढुङ्गा निकाल्न गएका बेला बगेर बेपत्ता भएको छ।