चितवन। भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडको प्रगतिपथ नमूना चोक सडक मापदण्ड विपरित कालोपत्रे गरिएको छ। राजनीतिक पहुँचको आधारमा सडक निर्माण गर्दा मनपरी भएको स्थानीयले आरोप लगाएका छन्।
चोकदेखि भित्र १८५ मिटरको बाटो नगरप्रहरीको सहभागितामा डिभाइन लाईट कन्स्ट्रक्सनले पिच गरेको हो। सम्झौता अनुसार ६ मिटर चौडाइको बाटो बन्नुपर्नेमा विवादका कारण साढे चार मिटरदेखि पाँच मिटरसम्ममात्रै कालोपत्रे भएको छ। विवाद नभएका ठाउँमा भने मापदण्ड अनुसारको काम भएको छ।
मापदण्डअनुसार बाटो बन्नका लागि दुवै तर्फका पक्षले ४।४ मिटर बाटो छोड्नुपर्ने थियो। निर्माण भएको सडकबाट एकतर्फका वासिन्दा चार मिटर छोडे पनि अर्कोतर्फका स्थानीयवासीले सो अनुसारको बाटो छाडेनन्। स्थानीय लालु चापागाईले राजनीतिक पहुँचका आधारमा एकतर्फका पक्षले आवश्यक बाटो नदिएको बताए।
पहुँच नभएकाले जग्गामा गरिएको तारबार डोजरले फालिदिएको बताए। उनले भने, ‘अर्को पक्षले चार मिटर दिन्छ भने म पनि दिन्छु। उनीहरुले पहुँचको आधारमा नदिने हो भने हामीलाई पनि दिन आवश्यक छैन। मेरो जग्गा घेराउ गरेको तारबार भत्काउन डोजर लगाए तर अर्को पट्टीको भत्काउनुपर्ने संरचना किन भत्किएन’ बाटो निर्माणमा स्थानीयमा देखिएको विवाद नमिलाई निर्माण व्यवसायी र महानगर, वडाले दादागिरी गरेको स्थानीय उपभोक्ता पूजा ढकालको भनाइ छ।
ढकालले नापजाँच नगरी नगर प्रहरी अगाडि राखेर पिचको काम भएको गुनासो गरे। सोझालाई धम्काउने र डर देखाउने काम भएको उहाँले आरोप लगाउनुभयो । यस्तै स्थानीय विकल बानियाले सानालाई थिच्ने र मिच्ने काम भएको बताए। कर्मचारीहरु ठूलाका पक्षमा रहेका कारण मापदण्ड अनुसारको काम हुन नसकेको उनको भनाइ छ।
विवादित यस चोकदेखि भित्रको बाटोमा एकातर्फ नेपाली कांग्रेसका नेता प्रेमराज पौडेल र माओवादी नेता एवं गण्डकी प्रदेश सभामुख नेत्रप्रसाद अधिकारीको घर रहेको छ। भरतपुर वडा नं. ११ का वडासदस्य सागर कुमालले भने स्थानीयकै कारण समस्या उत्पन्न भएको दाबी गरे। ‘विकास चाहिएको भए दुवै पक्ष मिलेर जानुपथ्र्यो’ उनले भने।
वडाका सब इन्जिनियर किरण न्यौपानेले बाटोको नापीको काममा कुनै शंका गर्नु पर्ने अवस्था नभएको बताए। स्थानीयबीच सहजीकरण नहुँदा नै स्थानीयले भनेअनुसार नै पिच गरिएको बताए। निर्माणको काम सुरु भएदेखिनै बाटोको विवाद उत्पन्न भएको थियो।
विवाद समाधान समितिसमेत बनेका थिए। गत पुसको २६ गते टेन्डर प्रक्रिया मार्फत डिभाइनलाई यो ठेक्का परेको थियो। २०७९ जेठ २६ गते यस सडकको काम सकिनु पर्ने थियो। तर, विवादका कारण म्याद थप गरी चालु महिना असार मसान्तसम्म यसको काम सक्न निर्देशन भएको थियो। यस बाटोको ठेक्कापट्टा १८ लाख ७२ हजार ४१० रुपैयाँमा भएको थियो।
ठेकेदार कम्पनीका प्रकाश तिवारीले साँध सिमानाको द्वन्द्व निकालेर निर्माण व्यवसायीदेखि महानगरलाई समेत असहयोग गरेको आरोप लगाए। ‘साँध सिमानामा झगडा गर्ने। एक आपसमा द्वन्द्व भड्काउने काम स्थानीयले गरे। उनीहरुलाई विकास चाहिएको छैन,’ उनले भने अवरोधका कारण महानगरले दिएको डिजाइन भन्दा फरक चौडाई घटाएर पिच गरिएको तिवारीले बताए। मापदण्ड अनुरुप काम नहुँदा वर्षामा पानी जम्नुका साथै नाली विस्तारमा समेत समस्या हुने देखिएको छ। चित्रवन खबरबाट