काठमाडौं। इण्डियन एक्सचेन्ज मार्केटमा बिजुली बेचेर नेपाल विद्युत प्राधिकरणले २८ दिनमा १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ।
१७८.२ गिगावाट आवर विद्युत बिक्री गरेर उक्त आम्दानी गरेको हो। प्राधिकरणले जुन २ अर्थात जेठ १९ बाट भारतीय बजारमा विद्युत निर्यात सुरु गरेको थियो। प्राधिकरणको स्वामित्वका रहेका त्रिशूली तथा देवीघाटको ३९ मेगावाट निर्यात सुरु गरिएको थियो। गत वर्ष पनि यिनै दुई आयोजनाबाट प्राधिकरणले विद्युत निर्यात गरेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा थप आयोजनाहरुले भारतीय बजारमा ऊर्जा निर्यातका लागि स्वीकृति पाएका थिए। स्वीकृतिका पाएका सबै आयोजनाको विद्युत अहिले भारतीय बजारमा निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।
कालीगण्डकी ुएुको १४० मेगावाट, मध्य मर्स्याङदीको ६८ मेगावाट, मर्स्याङदी ६७ मेगावाट र निजी क्षेत्रको लिखु(४ बाट उत्पादित ५१ मेगावाटसहित कुल ३६४ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ। यो वर्ष छिट्टै मनसुन सुरु हुँदा नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि प्राधिकरणले जेठ तेस्रो साता नै निर्यात सुरु गर्न सकेको हो।
प्राधिकरणले ढल्केबर(मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारणलाइन मार्फत् दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको जनाएको छ।
निर्देशक घिसिङले भारतीय बजारमा नेपाली विद्युतले राम्रो मूल्य पाइरहेको समेत दाबी गरे। उनका अनुसार २८ दिनमा औसत ९ रुपैयाँ ६७ पैसा प्रतियुनिट पाएको छ।
भारतमा पानी पर्यो र आइतबारको दिन पर्यो भने कम मूल्य पाइन्छ तर अरु दिनमा राम्रो मुल्य पाइरहेका छौं, उनले भने, अहिले निरन्तर रूपमा हामीले स्वीकृति पाएको ३६४ मेगावाट विद्युत पठाइरहेका छौं।
भारतीय प्रतिस्पर्धी बजारमा २४ घण्टालाई १५.१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिष्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ।
प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।
नेपालको कुल जडित क्षमता २२०५ मेगावाट पुगेको छ। बिहीबार साँझको पिक डिमाण्ड १६६० मेगावाट छ। यस हिसाबले करिब ६ सय मेगावाट विद्युत निर्यात गर्न सक्ने अवस्था छ। यही वर्ष करिब २ सय मेगावाट विद्युत प्रणालीमा थपिने प्राधिकरणको प्रक्षेपण छ। त्यसो हुँदा नेपालले ८ सय मेगावाट निर्यात गर्न सक्छ।
नेपालले माथिल्लो तामाकोसी ४५६ मेगावाट सहितका आयोजनाबाट उतपादन हुन ८ सय मेगावाट विद्युतका लागि स्वीकृति मागेको छ। भारतीय पक्षले क्लियरेन्स भने दिइसकेको छैन। बिजमान्डु