सिन्धुली। दुई दिनदेखिको अबिरल बर्षाका कारण ठाँउ–ठाँउमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ ।मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६१ किलोमिटर लामो खण्ड ठाँउ ठाँउमा पहिरो खस्नाले यातायात अवरुद्ध हुदा दशैंमा टिका लगाएर फर्किएका यात्रु बिच बाटोमा नै अलपत्र परेका छन् ।
खुर्कोट–घुर्मी खण्डमा गोलन्जोर गाउँपालिकाको हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप र फिक्कल गाँउपालिकाको सोखुखोला र नागथानमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर यातायात अबरुद्ध बनेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरिक्षक अनिलराज गिरीका अनुसार खुर्कोटबाट पाँच किलोमिटर पूर्वतर्फ सुनकोशी नदी किनारको हैबार अक्करे भिरमा पाँच सय मिटर भन्दा बढि क्षेत्रफलमा रहेको यो भिरको तीन ठाउँमा पहिरो खसेको छ । सिमसिम पानी परि रहेकाले पहिरो पन्छाउने डोजर समेत पुग्न नसकेको हो ।
पहिरोका कारण पूर्वी पहाडी जिल्लाबाट आएका सात सयभन्दा बढि यात्रुवाहक सवारी रोकिएका छन् ।मध्यपहाडी लोकमार्गमा यातायात अबरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, रामेछापबाट राजधानी काठमाडौं आवत जावत गर्ने यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका स्थानीयले बताएका छन् ।
तीन ठूला बीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको सिन्धुली जिल्लामा अन्य दुई ठूला राजमार्गमा भने यातायात सेवा सुचारु रहेको प्रहरीले जनाएको छ ।