काठमाडौं। सडक डिभिजन कार्यालय दमौलीले समयमा काम नगर्ने निर्माण कम्पनीका २१ वटा ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यायले आज सूचना जारी गर्दै २१ वटा ठेक्का तोड्ने चेतावनी दिएको हो।
सडक डिभिजन कार्यालय दमौलीबाट विभिन्न मितिमा सूचना प्रकाशित गर्दा अथवा कार्यालयबाट प्रेषित पत्र अनुसार निर्माण व्यवसायीहरुलाई निर्माण कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि चासो नदिएको कार्यालयले जनाएको छ।
के कारणले काम नगरिएको हो यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा यसै सूचना लाई अन्तिम मानी सार्वजानिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ तथा ठेक्का सम्झौताको शर्तबमोजिम ठेक्का तोडिने कार्यालयले जनाएको छ।
साथै ठेक्का सम्झौता अन्त्य गरे सँगै ठेक्का सम्झौता भएका प्रावधान एवं प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत कार्यालयले दिएको छ।
कार्यालयले ठेक्का तोड्न चेतावनी दिएका निर्माण कम्पनीहरुमा समुन्द्र कन्स्ट्रक्सन, इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, सुजि निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, आयु एण्ड अनुस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, मालिका कन्स्ट्रक्सन, जि एस कन्स्ट्रक्सन, स्वच्छन्द।द क्याराभान जेभी, खड्गदेवि कन्स्ट्रक्सन, डिभाइन लाइट कन्स्ट्रक्सन प्रा.लि र सुलक्ष्मि कन्स्ट्रक्सन प्रा.लि रहेका छन्।