काठमाडौं। धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ। फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो।
धरानमा सर्वसाधारणले फालेको फोहोर सङ्कलन गरी फोहोरबाट अर्गानिक, रिसाइकल हुने र ल्यान्डफिल्डमा फाल्नुपर्ने गरी छुट्याएर अर्गानिक फोहोर प्रशोधन गरेर बायो ग्यास र जैविक मल उत्पादन गरिएको छ।
२०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेस्ट टु ईनर्जी प्रालीबीच त्रिपक्षीय सम्झौताअनुसार भेन्चर वेस्ट टु इनर्जी प्रालिले अहिले बायो ग्यास उत्पादन गरिरहेको छ। करिब २४ करोडको लगानीमा २२ कट्ठा जग्गामा यो कम्पनी निर्माण गरिएको छ।
त्यस प्लान्टबाट डेढ सयवटा अटो सञ्चालन गर्न पुग्ने ग्यास उत्पादन हुने कम्पनीका इन्जिनियर विवेक अग्रवालले बताए। उनका अनुसार फोहोरबाट रिसाइकल (प्रशोधन) हुने फोहोर कवाडीलाई बिक्री गरिने र दैनिक १२ देखि १५ सय केजी ग्यास उत्पादन भइरहेको छ भने प्लान्टको दैनिक ५० टन फोहोर प्रशोधन गर्नसक्ने क्षमता रहेको इन्जिनियर अग्रवालले बताए।
धरानमा दैनिक २२ टनभन्दा बढी कुहिने फोहोर जम्मा हुन्छ भने नकुहिने फोहोर १५ देखि २० टनसम्म जम्मा हुने धरान उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख भेषराज घिमिरेले बताए। कम्पनीले कुहिने फोहोरबाट बायो ग्यास र नकुहिने फोहोरलाई रिसाइकल गरिरहेको वातावरण शाखाका प्रमुख घिमिरेले जानकारी दिए। यसरी ग्यासबाट उत्पादन गरी सवारी सञ्चालन गर्दा वातावरण पनि राम्रो हुने उनको भनाइ छ।
जम्मा फोहोरको ६० देखि ६५ प्रतिशत मल बनाउन सकिने हुन्छ भने १७ देखि २० प्रतिशत पुनः प्रयोग र प्रशोधन योग्य हुन्छ। २० प्रतिशतको हाराहारीमा सिसाजन्य जसलाई स्यानेटरी ल्यान्ड फिल्डमा व्यवस्थापन गर्न सकिने इन्जिनियर अग्रवालको भनाइ छ।
गत वर्ष २०७८ पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सो प्लान्टको उद्घाटन गरिएको थियो। धरानले फोहोर प्रशोधन केन्द्रको सञ्चालनमा ल्याएर आम्दानीको स्रोत बढाउनुका साथै फोहोरको दीर्घकालीन व्यवस्थापनको अभ्यास भने उदाहरणीय नै बनेको छ।
फोहोरको व्यवस्थापन गर्न धरान उपमहानगरले इनर्जी प्रालिसँग २० वर्षे सम्झौता गरिसकेको छ। सम्झौतामा अनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको जग्गासहित हस्तान्तरण गरी आम्दानीको एक प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने छ। फोहोर व्यवस्थापनका लागि प्रतिकेजी एक रुपियाँ एक पैसा खर्च हुन्छ। यसरी हेर्दा धरान उपमहानगरपालिका एक्लैले चार करोडको हाराहारीमा फोहोर व्यवस्थापनमा खर्च गर्छ। गोरखापत्रबाट