खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा पर्नुका साथै एउटा दुहुनो भैंसी मारिएको छ।
शुक्रबार रातको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको छ। सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा मुनिबाट पहिरो गएको बताइएको छ। बुद्धिराजको पेटीबाट झरेको पहिरो केहीमुनि रहेको दुजयन्ती राईको घरमाथि सडकमा थुप्रिएको छ।
यस्तै, माथिबाट झरेको पहिरोले तीन ओटा गोठ बगाउँदा समाक्षमा राईको एउटा दुहुनो भैंसी मरेको छ। त्यस्तै, एउटा थोरे भैंसीको खुट्टा भाँचिएको छ। घरभन्दा केहीमाथि रहेको तपसी–दामलुङ सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा गोठ पुरिएको हो। घर भने जोगिएको छ।
यस्तै, चिलिंखाका नविन राईको घरमुनि पहिरो गएको छ पहिरोले घर लच्काएको छ। पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, नविन राई, लाखमनी राई, रत्नमणी राई, मतीराज राई, इन्द्रमनी राई, धनकुमार राई र बडामनी राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ। केही स्थानीय शनिबार रातीदेखि नै घर छाडेर तपसीडाँडाका पसल तथा छाडिएका रित्तो घरमा बास बस्न पुगेको गाउँपालिकाले जनाएको छ।
फेदीको याक्सामा सडककै कारणले गएको पहिरोले घरमा क्षति पुगेको छ। त्यसको विस्तृत जानकारी आउन बाँकी छ। अनुगमनमा पुग्दा पहिरोले फेदीमा वितण्डा मच्याएको केपिलासगढी गाउँपालिकाले जनाएको छ।