काठमाडौं। सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन हुने भएको छ। ११औं संशोधन आएको तीन महिनापछि १२औं संशोधन मन्त्रिपरिषद्बाट स्वीकृत भई आज राजपत्रमा प्रकाशन गर्ने तयारी रहेको स्राेतले जनाएकाे छ।
सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनमा धेरै त्रुटि रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले लामो समयदेखि आन्दोलनस्वरुप ‘निर्माण होलिडे’ गरेर सरकारसँग वार्ता गरिरहेको थियो। महासंघकै आग्रह र जोडबलमा सरकारले नियमावली संशोधन गरेको स्रोतले जनाएको छ । मागअनुसारको नियमावली आउने भएपछि निर्माण व्यवसायी भने उत्साहित देखिएका छन्।
के के आउँदै छ त १२ औं संशोधनमा ?
महासंघका एक सदस्यका अनुसार तीन महिनाअघि मात्र आएको ११ औं संशोधनका त्रुटिलाई १२ औं संशोधनमा सच्याइएको छ। उनका अनुसार १२ औं संशोधनमा राखिएका महत्वपूर्ण विषय यस्ता छन्:
१. बिगतमा १० वर्ष भित्रको कार्य अनुभव माग गर्दै आएकोमा ११औं संशोधनले ५ वर्ष बनाएकोमा अहिले १० वर्षकै कार्य अनुभवलाई मान्यता दिइएको छ,
२. कार्य सम्पादनको लागि पेश गर्नु पर्ने लाइन अफ क्रडिट हटाईने
३.बिगतमा कामको ८० प्रतिशत कार्य अनुभव माग्दै आएकोमा अब ६० प्रतिशत मात्र कार्य अनुभव भए हुने,
यसबाट ठूला र साना निर्माण व्यवसायीलाई समान नियम र अवसर प्राप्त हुने निर्माण व्यवसायीको भनाइ छ।
निर्माण व्यवसायीको मागमध्ये मूल्यवृद्धि समायोजन एक महत्वपूर्ण माग थियो। खरिद नियमावलीको १२ औं संशोधनमा मूल्यवृद्धि समायोजनका बारे पनि उल्लेख भएको हुन सक्ने महासंघका एक सदस्याले बताए।
खरिद नियमावलीको १२ औं संशोधनले नेपालको निर्माण क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र समृद्ध नेपाल निर्माणको चाहना पूरा हुने निर्माण व्यवसायीहरु बताउँछन्। यसले राष्ट्रको बजेट खर्च समेत बढ्ने र निर्माण व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा कम हुने उनीहरुको भनाइ छ। हाल सञ्चालनमा रहेका सबै आयोजनाहरुको १ वर्ष म्याद थप समेत गरिएको छ।