काठमाडौं। २०७२ को भूकम्पबाट क्षति पुगेका काभ्रेका शैक्षिक पूर्वाधार निर्माणमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुगेका ३८१ वटा विद्यालय, शौचालय र खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च हुने जनाएको छ।
एकाइ प्रमुख गोकर्णध्वज कार्कीका अनुसार नेपाल सरकारले जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक अर्ब ३५ करोड १३ लाख ८६ हजार र शिक्षा विकास समन्वय एकाइमार्फत १७ करोड ५० लाख ८० हजार रुपियाँ खर्च भएको छ। यसैगरी एसियाली विकास बैङ्कले ईईएपी कार्यक्रमअन्तर्गत दुई अर्ब ७० करोड ४८ लाख, डीआरएसपी–१ अन्तर्गत ६२ करोड ८८ लाख २८ हजार, डीआरएसपी–२ अन्तर्गत ५९ करोड ७३ हजार ६० हजार र डीआरएसपी–३ अन्तर्गत २८ करोड ७१ लाख रुपियाँ बजेट आएको एकाइ प्रमुख कार्कीले बताए।
यस्तै भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने विद्यालयका लागि ६० करोड ७० लाख रुपियाँ, विभिन्न गैरसरकारी संस्थामार्फत एक अर्ब २३ करोड ६४ लाख ८३ हजार रुपियाँ र एसियाली विकास बैङ्कको सहयोगमा भूकम्पमा क्षति भएका विद्यालयको प्रबलीकरणका लागि सात करोड ३७ लाख ७५ हजार रुपियाँ खर्च भएको छ।
एकाइका अनुसार जेठ मसान्तसम्म जिल्लामा विद्यालय व्यवस्थापन समितिमार्फत २७० वटा, एसियाली विकास बैङ्कको सहयोगमा (ईईएपी)अन्तर्गत २८ वटा, डीआरएसपी–१ अन्तर्गत दस र भारत सरकारको सहयोगमा दसवटा विद्यालयको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको बताए।
यसैगरी विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भइरहेका ३१ विद्यालयमध्ये असार मसान्तसम्म २५ वटा विद्यालयको काम सकिने र डीआरएसपी–२ अन्तर्गत निर्माण भइरहेका नौ विद्यालय सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेको छ। एसियाली विकास बैङ्कको सहयोगमा डीआरएसपी–३ अन्तर्गत तीनवटा विद्यालयको भवन निर्माण भइरहेको, डीआरएसपी प्रबलीकरणअन्तर्गतका १८ विद्यालयमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको, ११ वटाको काम भइरहेको र भारत सरकारको सहयोगमा दुईवटा विद्यालय निर्माणको काम भइरहेको छ। एकाइका अनुसार भूकम्पमा क्षति पुगेका विद्यालयका शौचालयमध्ये १४६ वटा शौचालय निर्माण सम्पन्न भएको र निर्माणाधीन ४१ शौचालयको काम असार मसान्तसम्म सम्पन्न हुनेछ।
त्यस्तै भूकम्पका कारण विद्यालयको खानेपानी प्रणालीमा क्षति पुगेका ८८ वटा विद्यालयको खानेपानी योजनामध्ये जेठ मसान्तसम्म ६३ वटा विद्यालयको खानेपानीको आयोजना सम्पन्न भएको र २५ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका प्रमुख कार्कीले बताए। उनले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत नयाँ भवन निर्माण भई हस्तान्तरण भएका विद्यालय भवनमा पठनपाठन सुरु भएको बताए। गोरखापत्रबाट