विराटनगर। प्रहरीले मोरङमा नदीदोहनमा प्रयोग भएका ९ सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले मोरङको केराबारी गाउँपालिका– ८ स्थित खदम खोला, केराबारी– ७ स्थित मुगु खोलाबाट, सुन्दरहरैँचा नगरपालिका–५ स्थितबूढी खोला र बेलबारी नगरपालिका–२ स्थित लोहन्द्रा खोलामा अवैधरूपमा गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउपालिका–३ का ४० वर्षीय अशोक कटवाल, केराबारी गाउपालिका–१० का २२ वर्षीय राज लिम्बू, सुनसरी खनार–१३ का जयराम उराउ र सुनसरी इटहरी– ११ का ३२ वर्षीय अनिल चौधरी छन्। यस्तै मोरङ सुन्दरहरैचा–१० का २३ वर्षीय दिनेश उराव, सुन्दरहरैँचा– ५ का काशीनाथ ऋषिदेव, सुन्दरहरैँचा–११ का २० वर्षीय उज्ज्वल पौडेल र सुन्दरहरैँचा–१२ का २५ वर्षीय शम्भु मग्राती पनि पक्राउ परेका छन्।
पक्राउ परेका चालक र नियन्त्रणमा रहेको सवारी सहित चालकलाई आवश्यक कारबाहीका लागि बेलबारी नगरपालिकको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयसँग समन्वय भई रहेको डीएसपी श्रेष्ठले बताए।
‘टिपर, जेसीबी, ट्र्याकटर लगायतका ९ वटा सवारी साधनले गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो’, श्रेष्ठले भने, ‘नियन्त्रणमा लिइएको सवारी र सालकलाई आवश्यक कारबाहीका लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी नगरपालिकाको कार्यालयसँग समन्वय भइरहेको छ।’