काठमाडौं। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ। गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ। कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ।
उक्त सडकखण्डको लमाएदेखि लुङ्खुसम्मको कालोपत्रे गुणस्तरहीन भएसँगै स्थानीयले विरोध गरेका छन्। सडकमा गुणस्तर नभएको भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराउँदा समेत निर्माण कम्पनीले बेवास्ता गरेको महाशिला गाउँपालिका–५, लुङ्खुका पूर्व वडाध्यक्ष जीवन उचै ठकुरीले बताए।
उनका अनुसार सडकको विभिन्न ठाउँमा गत वर्षामा गएको पहिरोसमेत नहटाएको, टेवा पर्खाल तथा नाली सुधार नगरी कालोपत्रे गरेको र सडक बनाएदेखि नै विभिन्न समस्या आउन थालेको उनको भनाइ छ।
“हामीले सम्बन्धित कार्यालय, निर्माण कम्पनी र जिल्ला प्रशासनमा समेत ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन,” उनले भने, “निर्माण कम्पनीको चरम लापरबाही र कार्यालयको अनुगमन फितलो भएकाले यस्तो समस्या आएको हो।” अहिले लमाए–कुर्घा खण्डको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएको र धाजा फाटेको छ भने कुर्घा दुक्तान–लुङ्खु खण्डको नाली भत्किएका कारण सडक बगाउन सुरु भएको स्थानीय राम खनालले जानकारी दिए।
उनका अनुसार सडक कालोपत्रे तीन इन्च बाक्लो हुने भनि सम्झौता भए पनि अधिकांश ठाउँमा एक इन्च मात्रै रहेको छ। कमजोर सडकका कारण स्थानीयवासी टौप्रसाद शर्मा र गोविन्द गुरुङलगायतका घरमा जोखिम बढेको छ। यता ग्रामीण सडक सुधार आयोजना आरसीआईपीले भने निरन्तर अनुगमन गरिएको भए पनि पानीका कारण समस्या भएको हुनसक्ने दाबी गरिएको छ।
आयोजना प्रमुख कमल अधिकारी केही ठाउँमा छिटै सवारीसाधन चलेकाले कालोपत्रे उप्किएको हो। उनले कहीँकतै ‘कम्प्रेसर’ नपुगेर पिच उक्किन सक्ने जानकारी दिए। सो सडकमा पर्वतमै पहिलो पटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको हो। तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको प्रमुख अधिकारीले बताए।
लमायदेखि लुङ्खुसम्म १४ किलोमिटर सडक गत जेठको अन्तिमसातामा सम्पन्न भएको हो भने एक किलोमिटर पहिरोका कारण कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ। एसियाली विकास बैङ्क (एडिबी)को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रे भएको हो।
पर्वतको अर्मादी–बनौ सडक र मडकुवा–कुर्घा–लुङ्खु सडकका लागि ६१ करोड बजेट छुट्याइएको थियो। यो सडक कालोपत्रे भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, बिहादी र पैँयु गाउँपालिकाका नागरिकलाई सदरमुकाम कुस्मा बजार आउजाउ गर्न सहज हुनेछ। गोरखापत्रबाट