काठमाडौं। गोरखा जिल्लाको आँपपीपल अस्पताल जाने सडक कालोपत्रे भएको छ। ग्रामीण भेगमा रहेर विशेषज्ञ सेवा प्रदान गरिरहेको उक्त अस्पतालसम्म पक्की सडकको पहुँच पुगेको हो।
गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयमार्फत आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भएको हो।
सडक साइट इन्चार्जले १५० मिटर ढलान र बाँकी ठाउँमा पिच गरिएको बताए। कालोपत्रे भएको सडकमा नाली र आवश्यक ठाउँमा रिटनिङ वाल पनि दिएका छौँ, उनले भने, चौतारो आँपपीपल अस्पताल, आँपपीपल शीर्षकको उक्त आयोजना निर्माणका लागि चार करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो। डीकेसी–बीएम–आइएनएनएस् जेभीले निर्माणको जिम्मा पाएको उक्त सडकको म्याद आगामी भदौमा पूर्ण रूपले सम्पन्न हुँदैछ।
कालोपत्रे र बाँकी डेढ किलोमिटरमा ग्राभेल गर्ने जिम्मा ठेकेदार कम्पनी हो, उनले भने, बाँकी १५ सय मिटरमा नाली बनाउने काम मात्र बाँकी छ, ग्राभेल भने भइसकेको छ। साउन लागेसँगै तोकिएको समयभित्र नाली निर्माणको काम सक्ने लक्ष्य रहेको बताइएको छ। उक्त सडक ट्र्याक खनिएको १७ वर्षपछि कालोपत्रे भएको हो।
पक्की सडक बनेसँगै बिरामीलाई अस्पताल आउन, जान निकै सहज हुने विश्वास गरिएको छ। अस्पतालले एम्बुलेन्ससँगै बिरामीका लागि लक्षित गरी बस सेवा पनि सञ्चालन गरिरहेको छ। आकस्मिक रूपमा आउनु नपर्ने बिरामीलाई अक्षित गरी अहिले हप्तामा चार दिन बस सञ्चालन गरिएको छ। अहिले बर्खाका कारण चार दिन मात्र बस चलाएको बताइएको छ।
अहिले पालुङटारबाट गएका बिरामीलाई पनि आँपपीपल नै पुग्नुपर्ने बाध्यता छ। सभा चौताराबाट आँपपीपल अस्पतालसम्म कालोपत्रे भए तल्लो भेगका बिरामीलाई सहज हुने सरोकारवालाहरू बताउँछन्।