काठमाडौं। चक्लाबन्दी एवम् अतिक्रमणको कारण मासिएको वर्षौं पुरानो सार्वजनिक कुलो (स्थानीय भाषामा ‘पैनी’) पहिलेकै अवस्थामा ल्याउन पहल थालिएको छ। चन्द्रपुर नगरपालिकाको ५, ६, ८ र ९ नम्बर वडाका जमिनमा सिँचाइ हुने वर्षौं पुरानो ‘पैनी’ मासिएर पानी सडक तथा घर आँगनमा बग्न थालेपछि स्थानीय जनप्रतिनिधिले पूर्ववत् अवस्थामा ल्याउन पहल थालेका हुन्।
चाँदी नदी हुँदै बग्ने चुरे क्षेत्रको पानीले सिँचाइ गर्न बनाएका परम्परागत कुलो चक्लाबन्दी एवम् सँधियारको अतिक्रमणबाट मासिएका छन्। पानी सडक र घर आँगन हुँदै बग्न थालेपछि गत वर्ष वर्षा याममा डुबानको समस्या देखाप¥यो। उक्त समस्यालाई दृष्टिगत गरी सम्बन्धित वडाका अध्यक्षले मासिएका सार्वजनिक परम्परागत कुलो पूर्ववत् अवस्थामा ल्याउन सक्रिय भएका हुन्।
भूमि व्यवसायीले मनोमानी चक्लाबन्दी गर्दा र कुलोको साँध भएका किसानले जमिनको क्षेत्रफल बढाउन बर्सेनि पुर्ने गरेकाले कुलो मासिएको वडा नम्बर ६ का अध्यक्ष सहदेव केसीको भनाइ छ। भूमि व्यवसायी र कुलो सँधियारका अवरोध झेल्दै मासिएको कुलो जसरी भए पनि पूर्वस्थितिमा ल्याउने प्रतिबद्धता जनाउँदै उहाँले सोहीबमोजिम चन्द्रपुर नगरपालिका–६, झनझनी टोलमा २०२० सालको नापीले देखाएको नक्साबमोजिम कुलो पुनस्र्थापना गर्न अग्रसर भएको बताए।
कुलो पुनस्र्थापना भएपछि डुबानको समस्या नहुने भन्दै खुसी भएका स्थानीयले उक्त कार्यको प्रशंसा गरेका छन्। पालिकाको वडा नम्बर ७ का किसान जयदेव चौधरीले कुलो मासिँदा बोरिङ, पम्पसेटलगायतका उपकरणको प्रयोग गरी भूमिगत पानीले सिँचाइ गर्नुपर्ने अवस्था रहेको बताउँदै मासिएको कुलो पुनस्र्थापनाले सिँचाइ सुविधा सहज बनाएकोमा खुसी व्यक्त गरे।
नापी कार्यालय चन्द्रपुरका प्रमुख सविक विकले नक्सामा ‘पैनी’ कायम रहँदारहँदै पनि विविध कारणले कुलो मासिँदै गएको गुनासो आएको बताए। नगरपालिकाले मासिएको कुलोबारे नक्सा यकिन गर्न पत्राचार गरेमा नापी कार्यालय सोको कार्यान्वयन गर्न जति बेला पनि तयार रहेको उहाँले बताए।
नगरपालिकाभित्र नक्सा कायम भएको करिब एक सयभन्दा बढी सार्वजनिक कुलो मासिएको नापीले जनाएको छ। यस विषयमा नगरप्रमुख सञ्जय काफ्ले भने, “विगतमा के भए के भएनन् तर आफ्नो कार्यकालमा मासिएको सार्वजनिक कुलो पूर्वअवस्थामा ल्याउने र बाँकी रहेका कुलो कुलेसोको सफाइ तथा मर्मत गरी संरक्षण गरिने छ।” गोरखापत्रबाट