विराटनगर। मोरङको केराबारी–९ मा अवस्थित बेलचौरी र खयरघारी जोड्ने पुल दश वर्षसम्म पनि बन्न सकेको छैन।
उक्त पुल नबन्दा वर्षायाममा शिक्षक, विद्यार्थी लगायत विभिन्न काम काजका लागि स्थानीयले ज्यानको जोखिम मोलेर खोला तर्दै आएका छन् भने कतिपय निर्माणाधीन पुलको माथिल्लो भागमा चढेर उक्लिने र वारिपारि गर्ने गरेका छन्। यसले जोखिम बढेको छ।
सरकारी कर्मचारीबाट अनुगमन गर्ने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने बाहेक अरू काम हुन सकेको छैन।
तीन वर्षमा सम्पन्न हुने योजना रहेको निर्माणाधीन उक्त पुल करिब १० वर्ष देखि अलपत्र हुँदा आफूहरूलाई यात्रा गर्न सकस भएको स्थानीको गुनासो छ। चाँडै पुल निर्माण सम्पन्न गर्ने अपेक्षा देखाए पनि अहिलेसम्म सरोकारवाला निकायले बेवास्ता गर्दा यात्रा गर्न असहज भएको केराबारी–९ का पन्नालाल चौधरी बताउँछन्।
बर्खा लाग्दा खोलामा आउने बाढीले ज्यान जाला भन्ने चिन्ताले वर्षेनि पिरोल्ने गरेको सोही ठाउँकी कल्पना राई बताउँछिन्। घाँसदाउरा गर्न जाँदा वारिपारि तर्न निकै सकस हुने उनको भनाइ छ।
उनको भनाइअनुसार वर्षेनि पुलको अनुगमन गर्न जनप्रतिनिधि र सरकारी कर्मचारी आउने गरे पनि कामले भने कुनै गति लिन सकेको छैन। विशेषगरी बर्खाको समय विद्यार्थीहरू मारमा पर्ने गरेको विशाल परियार बताउँछन्।
‘बर्खामा निरन्तर पर्ने वर्षाका कारण खोलामा बाढी आउँछ र विद्यार्थीहरू स्कुल जाँदा खोला तर्न नसक्दा यही निर्माणाधीन अवस्थामा रहेको पुलको प्रयोग गर्छन्’, परियार भन्छन्, ‘विद्यार्थीहरूले जोखिममा यात्रा गरिरहेका छन्, यदि केही भयो भने कसले बेहोर्ने सकारले बेहोर्छ।’
भारतबाट पुल निर्माणकै लागि भनेर नेपाल आएका अम्मर मजाहिन कामले गति लिन नसक्दा थकाइ मारेर बसिरहेको भेटिए। भारतबाट १५ दिनअगाडि आएका उनी केही प्राविधिक समस्याले काम रोकिएको बताउँछन्।
पुल निर्माणको ठेक्का पाएको नीलगिरि कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणमा चासो नदेखाउँदा वर्षौंअघि शुरु गरिएको उक्त पुल कहिले सम्पन्न हुने हो‚ अझै टुंगो छैन।
समयमा पुल निर्माण गर्ने समय हुँदा पनि ठेकेदार कम्पनीले चासो नदिई निर्माणमा ढिलाइ हुँदा पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको स्थानीयको गुनासो छ।
‘समयमा पुल निर्माण नहुँदा दैनिकजसो मानिसहरू सोही खोलामा निर्माणाधीन अवस्थामा बनेको पुलको रडमाथि टेकेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्’, स्थानीय बासिन्दा भन्छन्, ‘अनुगमनमा आउँछन्, सेल्फी खिच्छन् अनि जान्छन्।’ थाहाखबरबाट