काठमाडौं। महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङ क्षेत्रमा पुग्नका लागि पर्यटन पूर्वाधारको काम धमाधम निर्माणाधीन छन्। दोलखाको शैलुङ गाउँपालिका–८ मा रहेको यो क्षेत्रमा भ्रमण गर्नका लागि दोलखाकै शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका साथै रामेछापको दोरम्बा गाउँपालिका क्षेत्रबाट पनि शैलुङ जाने पर्यटकका लागि गोरेटो, सडक, भ्यू टावरलगायतका संरचना तयार भइरहेका छन्।
सय वटा प्राकृतिक थुम्का रहेको र गुफा, मन्दिर र विभिन्न प्राकृतिक छाप रहेको शैलुङ पुग्न काठमाडौंबाट जाने पर्यटकका लागि सबैभन्दा छोटो मार्ग मुडेसम्म पुगेपछि २० किलोमिटर ग्राभेल सडकको यात्रापछि कालापानी पुग्न सकिन्छ। कालापानीमा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले नै पर्यटक बस्नका लागि सामुदायिक लज व्यवस्थापन गरेको छ भने अर्को गोलघर निर्माण गरिरहेको छ। त्यस्तै पर्यटन बोर्डसँगको साझेदारीमा गाउँपालिकाले मिनि ग्रेटवाल निर्माणको काम धमाधम चलिरहेको छ।
बाघखोर बजारदेखि शैलुङसम्म हरेक १० मिनेको पैदल दूरीमा प्रतिक्षालय निर्माण गरेको छ। जसले पर्यटकलाई हिउँ पर्दा र पानी पर्दा ओत लाग्न सहज हुने छ। प्रदेश सरकारको पर्यटन मन्त्रालयको आयोजनाअन्तर्गत मुडे हिलस्टेसनदेखि शैलुङ, दोरम्बासम्म पर्यटकीय करिडोरको रुपमा विकास गर्न पूर्वाधारका काम भइरहेका छन्। मुडेदेखि ढुङ्गेसम्म १६ किलोमिटर कालोपत्रे सडकको काम पनि धमाधम चलेको छ।
सडक कालोपत्रे भएपछि काठमाडौंबाट चार घण्टामा सजिलै र चरिकोटबाट एक घण्टामा शैलुङ पुग्न सकिन्छ। बजेट निर्माण गर्नु अघि आफ्नो मन्त्रालयका टोलीसहित शैलुङ पुगेको मन्त्रालयको टोलीले आगामी वर्षलाई घुमफिर वर्षको रूपमा मनाउने घोषणा गरेको बागमती प्रदेशका संस्कृति पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले जानकारी दिए। शैलुङ उत्कृष्ट गन्तव्य भएकाले बजेट निर्माणअघि आफैं स्थलगत भ्रमण गरेर पूर्वाधार निर्माणका लागि योजना बनाएको बताए।
शैलुङ सय वटा थुम्का भएको प्राकृतिक संरचना हो। शैलुङ गाउँपालिका–८ का पूर्वअध्यक्ष रामेश्वर उप्रेतीले प्राकृतिक मनोरम दृश्यावलोकन, बौद्ध र हिन्दु मन्दिर दर्शन गर्न आउने बताए। हिउँ परेका बेला हिउँ खेल्न, थरिथरिका गुँरास हेर्नका लागि पनि मन्दिर पुग्छन्। शैलुङबाट सगरमाथा हिमालयन क्षेत्रदेखि, रोल्वालिङ, जुगल हिमालय र लाङटाङ हिमालयन क्षेत्रको सजिलै चाँदीको घेरा झै अवलोकन गर्न सकिन्छ। नयाँ वर्षका दिन मात्र १० हजार बढीले यस क्षेत्रको भ्रमण गरे।
शैलुङ जान सहज बनाउन रामेछापतिरबाट धमाधम संरचना बनिरहेको छ। तामाङ, मगर, नेवार, क्षेत्री, थामीलगायतका जातजातिको संस्कृति अध्ययन गर्न सकिने शैलुङ र दोरम्बा क्षेत्रमा रामेछाप मन्थलीबाट चार घण्टा र काठमाडौंबाट रामेछाप हुँदै ६ घण्टामा पुग्न सकिने दोरम्बाका अशोक लामाले जानकारी दिए। रामेछाप हुँदै जाँदा खाँडादेवी मन्दिर, दोरम्बाको अग्लेश्वर मन्दिर दर्शन गर्दै जान सकिन्छ। दोरम्बामा १० वर्षदेखि होमस्टे सञ्चालनमा छ भने शैलुङको झोर मनगाउँमा पनि होमस्टे सञ्चालनका लागि स्थानीय लागि परेका छन्।
तीन हजार १ सय ४६ मिटर उचाइमा रहेको शैलुङ वर्षामा हरियाली, हिउँदमा हिउँ र विभिन्न फूल फुल्छन्। चौरी पालन, घोडा पालन पनि यहाँ हुन्छ। काठमाडौं र तराई क्षेत्रमा सोझै सडक क्षेत्रले जोडिएपछि यहाँ आउने पर्यटकसमेत बढ्दै गएका छन्।
शैलुङ आउने पर्यटक लक्षित गरी कालापानीमा होटलहरू निर्माण भएका छन्। शैलुङमा यति प्राकृतिक सुन्दरता छ त्यसको प्रचार प्रसार हुन भने सकेको छैन। शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले आगामी वर्षको बजेट पनि शैलुङको पर्यटन केन्द्रित गरेर बनाएको बताए। दोलखाको शैलुङ गाउँपालिका–८ मा पर्ने यस क्षेत्रको पर्यटन पूर्वाधारका लागि पदमार्ग, विद्युत र खानेपानीको निर्माण पनि जारी छन्। प्राकृतिक र सौन्दर्यको हिसाबले महत्वपूर्ण शैलुङमा पर्यटकीय रूपमा महत्व बढ्दै जाँदा दोलखा र रामेछापको सिमाना विवाद समेत छ। भूगोल जसको भए तापनि प्राकृतिक सम्पति अतिक्रमण नगरी शैलुङको बजारीकरण गरेर सबैले पर्यटन प्रवद्र्धनमार्फत फाइदा लिन सक्नुपर्छ। कारोबारबाट