काठमाडौं। चक्रपथको दोस्रो (कलंकी–महाराजगञ्ज) खण्ड विस्तारमा अन्योल उत्पन्न भएको छ। कोरोना महामारीका कारण रोकिएको उक्त खण्ड विस्तारको काम अझै सुरु भएको छैन।
गत वर्ष असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि अन्योल भएको हो। नेपाल सरकारले सर्भिस लेन निर्माणको लागि ठेक्का आह्वान गरेर कम्पनी छनोट हुने क्रममा रहेको भए पनि चिनियाँ पक्षले कोभिड–१९ र साइट क्लियर नभएको जनाउँदै हालसम्म कुनै प्रतिक्रया नदिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारीले बताए। उनले भने, “कोभिड–१९कै कारण देखाउँदै आयोजनाको प्रगति हुन सकेको छैन। आयोजनाले कुनै गति लिएको छैन।”
गत मंसिरमा चिनियाँ प्राविधिकको टोलीले साइट भिजिट गरेर स्वदेश फिर्ता भए पनि साइट क्लियर नभएसम्म निर्माण कार्य अगाडि नबढाउने आशय बुभिएको विभागको भनाइ छ। सरकारले सो खण्ड विस्तारको लागि आगामी आर्थिक वर्षमा १ अर्ब बजेट विनियोजन गरेको छ। सो बजेट सडक विस्तारका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यमा खर्च हुने प्रवक्ता अधिकारीले बताए। साइट क्लियर हुन बाँकी रहेको साइट छोडेर चिनियाँ निर्माण कम्पनीलाई पत्राचार गरेको भए पनि कोभिड–१९का कारण तत्काल केही औपचारिक जानकारी हालसम्म नदिएको विभागले जनाएको छ। चिनियाँ निर्माण कम्पनीले साइट क्लियर नभएको बताउँदै हालसम्म कुनै प्रतिक्रया नदिएको बताइएको छ।
कलंकीको स्युचाटारदेखि महाराजगञ्ज सुकेधारा पुलसम्मको साइट क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भन महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको साइड क्लियर हुन बाँकी रहेको छ। सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्नेछ। विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको मुआब्जा नदिने गरी फाइल अगाडि बढाएको छ। कानुनी प्रक्रिया पूरा गर्दा आयोजनाको विस्तार ढिलाइ भएको र साइट क्लिय हुन बाँकी रहेको जनाइएको छ।
उक्त सडक खण्डको लम्बाइ ११.६ किलोमिटर छ। चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइट क्लियर गरेर दिएपछि डिजाइन गरी विस्तार गर्ने गरी सरकारसँग सम्झौता गरिसकेको छ। अघिल्लो वर्षको फागुनमा नै सरकारले साइड क्लियर गरेर विस्तारको जिम्मा दिने योजना भए पनि आन्तरिक प्राविधिक तथा कोभिड–१९का कारण आयोजनाको कार्यप्रगति ढिलो भएको छ।
सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेर काम थाल्ने योजना छ। कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ। तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र साइट क्लियर हुनुपर्ने चिनियाँ पक्षको शर्त रहेको छ। विभागका अनुसार सबै साइट क्लियर गरेरमात्र आयोजनाको काम थाल्ने चिनियाँ पक्षले अडान राखेको छ।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ।
बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ। बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक÷एक लेनको साइकल लेन र यससँगै पैदलयात्रु लेन पनि बनाउनेछ। सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ। साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ। सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ। चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० चक्रपथ सालदेखि विस्तारको काम अघि बढाएको थियो। कारोबारबाट