काठमाडौं। साझा यातायातका विद्युतीय बसहरु आजदेखि सञ्चालनमा आएका छन् । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट औपचारीक रुपमा सञ्चालन गरिएको हो।
पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुट समेत लिएर सञ्चालनमा ल्याएको हो। यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् ।
अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।
सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।
सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो। साउन २०७६ मा यातायात मन्त्रालयले हतारहतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।
स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।
तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।
सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।