काठमाडौं। सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दैनिक १ हजार ६ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको हो।
अक्सिजन प्लान्ट जडान गरेपछि बिरामीका आफन्तलगायत सम्बन्धित निकायले खाली सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ। अक्सिजन प्लान्ट जडान गरेपछि सल्यान मात्र नभई रोल्पा रुकुमका स्थानीयसमेत लाभान्वित हुने भएका छन्।
कोरोना महामारीको समयमा चरम अभाव भएकाले त्यसलाई पूर्ति गर्न जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
कोरोनाका बिरामीका लागि मात्र नभई अक्सिजनको समस्या हुने सबै खालका बिरामीले सहजरुपमा अक्सिजन पाउने छन।
संघीय सरकारको ७१ लाख अनुदानमा अक्सिजन उत्पादन गर्ने क्षमता भएको फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको हो। अक्सिजन अभावमा जिल्ला अस्पताल आएका कसैले ज्यान गुमाउन पर्ने छैन।
सल्यान अस्पताल सल्यानका ईन्चार्ज एमडीजीपी डा. अभिषेक सिंहले अक्सिजन प्लान्ट जडानपछि जिल्लावासीलाई धेरै फाइदा भएको र आउँदा दिनमा कोरोना, दम तथा अन्य बिरामीले अक्सिजनका लागि सिलिन्डर बोकेर विभिन्न जिल्ला धाउन नपर्ने बताए। उनका अनुसार प्लान्टले सल्यान मात्र नभई रुकुम, रोल्पा र जाजरकोटवासीसमेत लाभान्वित हुने छन्।
अक्सिजन प्लान्टको अभावकै कारण अहिलेसम्म अस्पतालमा भेन्टिलेटर र आईसीयु संचालन हुन नसकेको भए पनि आउँदा दिनमा सरकारले दक्ष जनशक्ति व्यवस्था गरेमा अस्पतालमा थन्किएका सामग्रीलाई प्रयोग गरेर आईसीयु तथा भेन्टिलेटरसमेत संचालन गर्न सकिने छ।
सल्यान अस्पताल विकास समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले १५ शय्याको जिल्ला अस्पताल सल्यानमा अहिले ३५ शय्या राखेर बिरामीको उपचार भइरहेको वताए। उनका अनुसार, दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी उपचारका लागि सल्यान अस्पताल आउने गरेका छन्।
प्लान्टले उत्पादन भएको अक्सिजन अस्पतालमा आएका बिरामीमात्र नभई बाहिरबाट कोही खाली सिलिन्डर ल्याएमा सीमित शुल्क लिई भरेर उपलब्ध गराउन सकिने छ। गोरखापत्रबाट