नेपालगञ्ज। नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको गृह जिल्ला बाँकेमा १७६ वटा योजना छनोट भएका छन्। आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विभिन्न मन्त्रालयका योजनाहरू जिल्लामा परेका छन्।
बाँकेको खेलकुद क्षेत्रका लागि मात्र नौ करोड १४ लाख ४६ हजार रुपियाँ विनियोजन गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालन शीर्षकमा नौ करोड १४ लाख ४६ हजार र युवाका लागि १० लाख बजेट विनियोजन गरिएको छ।
मन्त्री गहतराजको सक्रियतामा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बाँकेका लागि ४० वटा योजना छनोट भएको मन्त्रीका स्वकीय सचिव दिलिप सोनीले बताए। त्यसैगरी खानेपानी मन्त्रालयअन्तर्गत ५४ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत १७ वटा योजना परेका छन्।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत तीन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पाँचवटा योजना छनोटमा परेको उनले बताए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको चार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका १२, युवा तथा खेलकुद मन्त्रालयका ११ र सहरी विकास मन्त्रालयका १६ वटा योजना परेका छन्।
बाँकेका आठवटा पालिकालाई प्राप्त हुने अन्तरसरकारी वित्त हस्तान्तरण रकम बढाउनसमेत मन्त्री गहतराजले महत्वपूर्ण भूमिका खेलेको सचिवालयले जनाएको छ। जिल्लाको सबैभन्दा पछि परेका नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको विकास निर्माणका लागि निरन्तर योजना र कार्यक्रम ल्याइने जनाइएको छ। गोरखापत्रबाट